बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • अविरल वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध

अविरल वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध

  • बुधबार, असार १५, २०७९
अविरल वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध

अविरल वर्षाका कारण देशका विभिन्न सडकहरू अवरुद्ध हुन पुगेका छन् । यसै क्रममा पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा अहिले ठूलो बाढी आएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाइभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरू ठप्प छन् । बाटो खुलाउनको लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।

यता निरन्तरको वर्षाकै कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षातले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।

यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड अवरुद्ध

दमौली– मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको खड्काले बताए ।

ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध
अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

मङ्गलबार बाढी–पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर लामो छ ।

चर्चामा

सम्बन्धित समाचार