• होमपेज
  • समाचार
  • ९ घन्टापछि सेनाले गर्‍यो माइलाको उद्धार

९ घन्टापछि सेनाले गर्‍यो माइलाको उद्धार

  • शनिबार, जेष्ठ २८, २०७९
९ घन्टापछि सेनाले गर्‍यो माइलाको उद्धार

नुवाकोटको ककनीस्थित त्रिशुली प्रशारण लाइनमा झुन्डिएका माइला विकको उद्धार गरिएको छ। नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो।दिनभर उनलाई फकाएर उद्धार गर्न खोजेपनि सकेको थिएन।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टरसहितको टोली ककनी उडेको थियो।

‘नेपाली सेनाको टोलीले भर्खरै उद्धार गर्नुभएको छ। उहाँहरूले पोलमा चढेर उद्धार गर्नुभयो,’ उनले भने। शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रशारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले विद्युत लाइन बन्द गराउन लगाएका थिए।

पोलपछि उनी तारमा समेत झुन्डिन पुगेका थिए। उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए। तर उनी झरेनन्।

यसरी दिनभर जस्तो विद्युत आपूर्ति बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट आपूर्ति गरेको हो। दिनभर विद्युत बन्द हुँदा एक करोडको हाराहारीमा क्षति पुगेको प्रवक्ता सुरेशबहादुर भट्टराईले‍ जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार