शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • अछाम घटनाः पोस्टमार्टमपछि आफन्तले शव बुझे, मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी

अछाम घटनाः पोस्टमार्टमपछि आफन्तले शव बुझे, मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी

  • बिहिबार, जेष्ठ २६, २०७९
अछाम घटनाः पोस्टमार्टमपछि आफन्तले शव बुझे, मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी

धनगढी — अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। शव भेटिएको ६ दिनपछि उनको पोस्टमार्टम भएकोमा आज उनका आफन्तले शव बुझेका हुन्।

पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। मेयर अम्बिका चलाउने लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए। यस्तै घटना अनुसन्धानको निष्कर्षतिर पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबी समेत गरे।

अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ। राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ। घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ। मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन्।

विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए। तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन्। मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भैरहेको छ। यस्तै संघीय राजधानी काठमाडौंमा पनि उनको न्यायका लागि संघर्ष गरिने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार