बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • ‘महान्यायाधिवक्ताले निर्वाचनमा हस्तक्षेप गरे’

‘महान्यायाधिवक्ताले निर्वाचनमा हस्तक्षेप गरे’

  • बुधबार, जेष्ठ १८, २०७९
‘महान्यायाधिवक्ताले निर्वाचनमा हस्तक्षेप गरे’

स्थलगत प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले जिल्लाका निर्वाचन र स्थानीय प्रशासनका अधिकारीहरुमाथि हस्तक्षेप गरी निष्पक्ष मतदान प्रभावित पारेकाले थप कारवाहीको सिफारिस छ ।
निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेर निर्वाचन बिथोल्न खोजेको निष्कर्ष निकालेको छ ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोन गरी दबाव दिएको र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख छ ।

‘आफ्नो पदीय दायित्वभन्दा बाहिर गई महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीले बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दबाव दिएको’, प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनको काममा हस्तक्षेप गरी पदीय मर्यादा विपरीतको कार्य गरेको पाइएकाले निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको देखिंदा निजसँग सो विषयमा स्पष्टीकरण माग गर्न उपयुक्त देखिन्छ ।’

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका क्रममा बाजुराको बुढीगंगा नगरपालिकाको १० मध्ये ६ वटा वडाको मतदानमा बुथ कब्जा भएको थियो । सोही कारण निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाको यसअघिको मतदानलाई बदर गर्दै पुनः मतदान गर्ने निर्णय गरिसकेको छ ।
कांग्रेस र एमालेले एक अर्कामाथि मतदान केन्द्रमा अनधिकृत कब्जा(बुथ क्याप्चर) गरेको आरोप लगाएका छन् । कांग्रेसले एमालेमाथि ४ वडामा र एमालेले कांग्रेसमाथि २ वडामा बुथ कब्जा गरेको आरोप लगाएको छ । एमालेले तत्काल मतगणना सुरु हुनुपर्ने र कांग्रेसले पुनः मतदानको माग गरेको थियो ।

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार थिए । एमालेका उम्मेदवार रामबहादुर बानिया लगायतले महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय प्रशासनलाई प्रभावित पारी निष्पक्ष निर्वाचन हुन नदिएको आरोप लगाएका थिए । कांग्रेस उम्मेदवार रंगबहादुर महान्यायाधिवक्ता खम्बहादुर खातीका सहोदर दाजु हुन् ।

एमालेले आरोपसहित उजुरी दिएपछि निर्वाचन आयोगबाट खटिएको टोलीलाई मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायत निर्वाचन अधिकृतले महान्यायाधिवक्ता खातीले बारम्बार फोन गरेर चासो राखेको र मतदान रोक्न दबाव दिएको बताएका हुन् ।

बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले निर्वाचन आयोगको टोलीलाई बुझाएको विवरणमा महान्यायाधिवक्ताले बारम्बार फोन गरेर विकसित घटनाक्रमबारे चासो राखेको उल्लेख छ । ‘महान्यायाधिवक्ता खम्मबहादुर खातीले बुढीगंगाको वडा नं. २ र ३ मा के भएको हो भनी फोन गरेर चासो व्यक्त गरेको’ उनको मौखिक भनाईलाई उधृत गर्दै आयुक्त जबराले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘वडा नं. १, ६, ८ र १० को मतदानका विषयमा दिनभर एक पटक पनि फोन नआएको ।’

बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले पनि आफूलाई महान्यायाधिवक्ताले फोन गरेको बताएका छन् । उनले त प्रतिवेदनमा नै महान्यायाधिवक्ता खातीले बारम्बार मतदान रोक्न आग्रह गरेको बताएका छन् ।

सापकोटाले पेश गरेको प्रतिवेदनमा ‘स्थानीय नागरिकको रुपमा रहनुभएका नेपाल सरकारका माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूले भानोदय मावि मतदान केन्द्रमा भएको निर्वाचन स्वच्छ नभएको र स्थलगत गर्न पटकपटक फोनमा आग्रह गर्नुभएको’ भन्ने व्यहोरा उल्लेख छ ।

उनले पेश गरेको कागजातमा आधारित भएर निर्वाचन आयोगमा पेश भएको प्रतिवेदनमा भनिएको छ, ‘उहाँ (महान्यायाधिवक्ता खाती) ले वैशाख ३० गते पाँच पटक फोन सम्पर्क गर्नुभएको, दुई पटक कल मिस भएको हुँदा निर्वाचन अधिकृतले १० पटक सम्पर्क गरेको ।’ हामीले यसबारेमा प्रतिक्रिया लिन महान्यायाधिवक्ता खातीसँग पटकपटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
महान्यायाधिवक्ता खातीले फोनमार्फत रुचि देखाएको भानोदय मावि मतदान केन्द्र वडा नं. ५ मा पर्छ । कांग्रेसले त्यो वडामा एमालेले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले ‘बुथ कब्जा नगरेको, तर आफ्ना शुभचिन्तकहरुले उत्साहपूर्वक मतदान गरेको’ प्रतिक्रिया दिएको छ ।
एमालेले कांग्रेसमाथि वडा नं ४ र ७ मा बुथ कब्जा गरेको आरोप लगाएको छ ।

अनलाइनखबरसँगको कुराकानीमा कांग्रेसका बाजुरा जिल्ला सभापति रामसिंह रावलले वडा नं २, ३ ५ र ९ मा एमालेले बुथ कब्जा गरेको बताएका थिए । उनले निर्वाचन आयोगको स्थलगत टोलीलार्ई पेश गरेको विवरणमा भने एमालेले २, ३ र ९ वडामा बुथ कब्जा गरेको उल्लेख गरेका छन् ।

दुवै दलले एक अर्कामाथि बुथ कब्जा गरेको आरोप लगाएको मतदान केन्द्रमा अस्वभाविक रुपमा मत खसेको देखिएको छ । एमालेले कांग्रेसमाथि आरोप लगाएको ४ नम्बर वडामा कुल मतदातामध्ये १० जनाबाहेक सबै मत खसेको छ ।

कांग्रेसले एमालेमाथि कब्जा गरेको आरोप लगाएको २ नम्बर वडामा पनि ९० प्रतिशतभन्दा बढी मत खसेको छ । एमालेमाथि बुथ कब्जाको आरोप लागेको ९ नम्बर वडामा पनि ९० प्रतिशतभन्दा बढी मत खसेको छ । वडा नं. २ र ३ को मतदान केन्द्र एउटै ठाउँमा तोकिएको थियो, विवाद त्यहीँबाट सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतका साथै प्रमुख जिल्ला अधिकारीलाई समेत फोन गरेर निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको भनी उल्लेख छ । तर प्रमुख जिल्ला अधिकारीले महान्यायाधिवक्ताको बारेमा गरेको टिप्पणी भने प्रतिवेदनमा समावेश छैन ।

एमालेले महान्यायाधिवक्ताको हस्तक्षेपका कारण प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी बलका जिल्लास्थित कार्यालय प्रमुखहरुले मतदान केन्द्रबाट सुरक्षाकर्मी फर्काएको आरोप लगाएको थियो ।
उनीहरुले निर्वाचन आयोगको स्थलगत टोलीलाई प्रतिवेदन बुझाउने क्रममा भने पटकपटक विभिन्न मतदान केन्द्रमा झडप भएको दावी गरेका छन् । खुँडा, खुकुरी र हतियारका साथमा मतदाताबीच बारम्बार झगडा भएकाले सुरक्षाकर्मीले हस्तक्षेप गर्दा रक्तपात हुने भएकाले संयमता अपनाएको उनीहरुले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

कतै पनि मतदान स्थगित नभएको र मतपेटिका प्रक्रियासम्म रुपमा शिलबन्दी गरी निर्वाचन अधिकृतलाई बुझाएकाले मतगणना हुनुपर्ने भनी आयुक्त जबराले निर्वाचन आयोगमा प्रतिवेदन बुझाएका थिए ।

निर्वाचन आयोगले भने बहुमतको निर्णयबाट बुढीगंगामा फेरि मतदान गर्ने निर्णय गरिसकेको छ । ‘उहाँले पेश गरेको प्रतिवेदनमा उल्लेखित महान्यायाधिवक्ता खम्मबहादुर खातीको सवालमा गरिएको टिप्पणी र सिफारिस गम्भीर विषय हो’ आयोगका एक आयुक्तले भने, ‘यसबारेमा निर्णय हुन बाँकी छ । आयोगमा छलफल चलिरहेको छ, छिट्टै केही निष्कर्ष बाहिर आउँछ ।’ अनलाइन खवरबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार