• होमपेज
  • समाचार
  • खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

इनार खन्ने क्रममा पुरिएकाको उद्धार हुन सकेन

  • मङ्लबार, बैशाख २०, २०७९
खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ।

बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।

डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपरान्ह परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो।

घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो।

परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो।

गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यही उनको मृत्यु भएको हो। किशोरीका आमाबुवा भारतमा छन्।

इनार खन्ने क्रममा पुरिएकाको उद्धार हुन सकेन

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ तुलसीपुरमा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको उद्धार हुन सकेको छैन।

प्रहरीका अनुसार शनिबार बिहान साढे ११ बजेतिर साजकुटीमा इनार खन्ने क्रममा तुलसीपुर १७ जमेराका २५ वर्षीय हरि चौधरी पुरिएका थिए।

उनको उद्धारको प्रयास जारी रहेको र मंगलबार दिउँसोसम्म उद्धारको काम सकिने प्रहरीले बताएको छ। ४० फिट गहिरो कुवा खन्ने क्रममा उनी पुरिएका थिए।

चर्चामा

सम्बन्धित समाचार