काठमाडौं — पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो ।
नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो ।
घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दैछ ।
टी-२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई/दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।
यस पटक नेपाली टिममा युवा खेलाडीहरूको बाहुल्य छ । २१ वर्षीय सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा सबैभन्दा सिनियर खेलाडीको रुपमा सोमपाल कामी र करण केसी हुनेछन् ।
यसअघि पीएनजीसँग खेलेका सन्दीप र सोमपालसहित ७ खेलाडी टी-२० शृङखलामा पनि टिममा छन् ।
करण केसी, आसिफ शेख, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी–२० टोलीमा छन् । यू-१९ एसिया कप खेलेका आदिल पहिलो पटक सिनियर टिममा परेका हुन् । यसअघि देव खनालले एक दिवसीमा डेब्यु गरेका थिए ।
पारस खड्काको पुस्ताका खेलाडीविना नेपालको सिनियर टिमले पहिलो पटक खेलिरहेको छ ।
एक महिनाअघि ओमानमा भएको टी-२० विश्वकप छनोटमा खेलेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यसपटक दुवै फर्म्याटको टिममा परेनन् ।
पुस्ता हस्तानतरणको प्रक्रियामा रहेको नेपालले एक दिवसीयमा पीएनजीसँग दुवै खेलमा पराजित हुँदा युवा खेलाडीको लागि विभिन्न सकरात्मक पक्षहरू समेत थिए । रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले पीएनजीविरुद्ध शतक प्रहार गरे । रोहित टी-२० टिममा भने छैनन् ।
एक दिवसीय खेल गुमाए पनि त्यसका सकारात्मक पक्षलाई आत्मसाथ गर्दै नेपाली टोली पीएनजीविरुद्ध मैदान उत्रदैंछ ।
पीएनजीविरुदध नेपालले यसअघि जम्मा एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । सात वर्षअघि भएको उक्त खेलमा नेपाल पराजित भएको थियो ।
सन् २०१५ मा आयरल्याण्डमा भएको टी-२० विश्वकप छनोटमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको ९४ रनको लक्ष्य पीएनजीले २ विकेट गुमाएर ३५ बल बाँकी छँदै पूरा गरेको थियो । उक्त खेल खेलेका सोमपाल कामी र करण केसी मात्र अहिले नेपाली टिममा छन् । अनलाइनखबरबाट ।