धनगढी — प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही २०७८ चैत ९ गते दिपायलबाट सुरु हुँदैछ। प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ।
सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्ने जनाइएको छ।धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्ड चैत २० र चैत २१ गते नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सम्मेलन क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत दरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण हुनेछ।
लघुवित्तका सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार, ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्वीलचियर प्रदान गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ। सेनाका बहालवाला, भूतपूर्वसैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ। सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेको पाइन्छ।
मुलुकमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० बाट पुनः आरम्भ गरिएको थियो।साभार दिनेशखबर ।