बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाज
  • होलीमा जबरजस्ती अबिर नलगाउन बझाङ प्रशासनको आग्रह

होलीमा जबरजस्ती अबिर नलगाउन बझाङ प्रशासनको आग्रह

  • बिहिबार, चैत्र ३, २०७८
होलीमा जबरजस्ती अबिर नलगाउन बझाङ प्रशासनको आग्रह

अर्थ जङ्ग शाही/बझाङ — जिल्ला प्रशासन कार्यालय बझाङले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।

होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादकपदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।

यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ । कसैले अवाञ्छित एवं उच्छृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय बझाङले पनि सभ्य तरिकाले फागुपूर्णिमा मनाउन आग्रह गरेको छ ।

प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहोर पानी प्रयोग नगर्न आग्रह गरेको हो । यस्तै मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्रगतिमा नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

मोटरसाइकलमा दुईजनाभन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार