• होमपेज
  • देश
  • गैरआवासीय नेपाली संघ विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति

गैरआवासीय नेपाली संघ विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति

  • शुक्रबार, फाल्गुन २७, २०७८
गैरआवासीय नेपाली संघ विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति

काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ ।

पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० औं विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षमा रहेका शेष घलेले छुट्टै निर्वाचन समिति पुनर्गठन गरेका छन् ।

मार्च २४ र २५ मा गर्ने गरी पन्त पक्षधरले तोकेको समयकै आसपासमा आचार्य पक्षले विश्व सम्मेलनको मिति तोक्ने तयारी गरेको छ ।

घले नेतृत्वमा रहेको संरक्षक परिषद भंग गर्ने तथा बहुसंख्यक डेलिगेट्स रहेका देशहरुको कार्यसमिति विघटन भएपछि दुई पक्षको दुरी थप बढेको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिएको थियो ।

अध्यक्षका प्रत्यासी आचार्यले संरक्षक परिषद भंग गर्ने अधिकार वर्तमान कार्यसमितिलाई नरहेको दाबी गरे । उनी भन्छन्, ‘संरक्षक परिषदले गराएको निर्वाचनमा हामी भाग लिन्छौं । पन्त कार्य समितिले गराउने विश्व सम्मेलनको वैधानिकता नै छैन ।’

शुक्रबारसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, आचार्यले उम्मेदवारी दर्ता नगर्ने बताइसकेका छन् । अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत अक्टोबरमा तोकिएको विश्व सम्मेलनमा चुनिने प्रतिनिधिको विषयलाई लिएर विवाद सुरु भएको थियो । आचार्य पक्षले डेलिगेट्समा अनियमितता गरेको आरोप सहित परराष्ट्रमा उजुरी दिएपछि विवाद झन् बढ्दै गएको थियो ।

पन्त कार्यसमितिले डिसेम्बर १९ र २० मा सम्मेलन हुने गरी नयाँ मिति तोकेको थियो । आचार्य पक्षले विवाद साम्य नभई निर्वाचनमा भाग लिन नसकिने अडान लिएपछि उक्त समयमा पनि सम्मेलन हुन सकेन ।

चर्चामा

सम्बन्धित समाचार