काठमाडौं — होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए ।
‘पुरानो अडरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै तोकिएको छैन, दुई दिनदेखि उद्योगीले बजारमा चिनी पठाएका छैनन्,’ ती व्यापारीले भने । उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकिलो ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको व्यापारीहरुको आरोप छ ।
नयाँ चिनीको मूल्य प्रतिबोरामा ३६ रुपैयाँसम्मले बढ्न सक्ने जानकारी उद्योगीहरुबाट आएको अर्का होलसेल व्यापारी सञ्जय फुँयालले बताए । टोखा चेम्बर अफ कमर्शका अध्यक्षसमेत रहेका फुँयालकाअनुसार अहिले बजारमा पुरानो चिनी मात्रै आइरहेको छ । ‘नयाँ चिनी आएको छैन, मूल्य बढ्ने जानकारी भने आएको छ’ फुयाँलले भने । बोरामा ३६ रुपैयाँले बढ्ने चिनीले उपभोक्ताको मूल्यमा भने खासै असर नगर्ने उनले बताए ।
उद्योगीले नयाँ चिनीको बिक्री रोकेको गुनासो आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘दुई दिनदेखि बजारमा उद्योगीले नयाँ चिनी नपठाएको र मूल्य बढाएपछि मात्रै बजारमा चिनी उपलब्ध हुने जानकारी गराएको सूचना आएको छ,’ तिमिल्सनाले भने । चिनी जस्तो अत्यवश्यक वस्तुको बिक्री मूल्य बढाउनकै लागि रोक्नु अपराध भएको भन्दै उनले यसबारे अनुगमनकारी निकायमा जानकारी गराएको बताए ।
चिनीमा अस्वभाविक मूल्य वृद्धिको गुनासो आएको छ : विभाग
बजारको हस्तक्षेपकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने चिनीमा अस्वभाविक मूल्य वृद्धि गरिएको गुनासो आएको बताएको छ ।
चिनीको बिक्रीमा विभिन्न खाले समस्या रहेको गुनासो पछि आज मात्रै नेपाल चिनी उद्योग संघलाई चिनीको आपूर्ति व्यवस्था र लागतको सम्पूर्ण विवरण माग गर्दै पत्र काटेको विभागले जनाएको छ ।
‘चिनीको मूल्यमा गडबढी भएको सूचना पछि हामीले आज मात्रै उत्पादन लागत र आपूर्ति अवस्थाबारे चिनी उद्योग संघलाई पत्राचार गरेका छौं,’ विभागका अनुगमन शाखा प्रमुख एवं निर्देशक हरि पंगेनीले भने । विभागले आन्तरिक अनुगमन र अनुसन्धान भन्दै उनले संघको जवाफ पछि थप निर्णय हुने बताए ।
मूल्य वृद्धि गर्न बिक्री रोकेकोबारे प्रतिक्रिया लिन खोज्दा चिनी उत्पादक संघका अधिकारीहरु भने सम्पर्कमा आएनन् । संघका अध्यक्ष शशीकान्त अग्रवालले फोन र म्यासेज दुवैको जवाफ फर्र्काएनन् ।अनलाइनखबरबाट साबार ।