काठमाडौं — बुधवार एमसिसी सम्झौता संसदमा टेबुल गर्न नहुने माग राख्दै नेपाल बन्द गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले नेपाल बन्द गरेका हुन्।
यसै क्रममा काठमाडौंको कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेका ५० वर्षीय मंगलबहादुर मोक्तान रहेका छन्। बन्द गराउन निस्केका ३ जनाले पेट्रोल छर्केर ट्याक्सी जलाउन खोजेका थिए। तीमध्ये मोक्तानलाई पेट्रोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
अन्य दुई जना भने भागेका छन्। काठमाडौंका विभिन्न स्थानबाट बन्द गराउन निस्केका ६ जनालाई पक्राउ गरिएको बताइएको छ।