बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • दिदीबहिनीले सँगै शाखा अधिकृतमा नाम निकाले

दिदीबहिनीले सँगै शाखा अधिकृतमा नाम निकाले

  • शुक्रबार, माघ २१, २०७८
दिदीबहिनीले सँगै शाखा अधिकृतमा नाम निकाले

धनगढी– कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया पार्वती भट्टलाई अहिले फोन उठाउन भ्याइनभ्याई छ। लोकसेवा आयोगले शाखा अधिकृतमा सिफारिस गरेको दिनदेखि नै उनको मोबाइलको घण्टी निरन्तर बजिरहेको छ। बिहीबार शाखा अधिकृतको नियुक्ति पत्र पाएपछि त पत्रकारले पनि भट्टको मोबाइलको घण्टी बजाइरहेका छन्।

कारण, शाखा अधिकृतमा पार्वती एक्लैले नाम निकालेकी थिइनन्। उनकी सहोदर बहिनी वसन्तीले पनि दिदीसंगै शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी थिइन्। बिहीबार पार्वती र वसन्तीले एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन्। हुन त पार्वती र वसन्तीले सरकारी सेवा प्रवेश गरेको यसअघि नै हो।

दिदी पार्वतीले १९ वर्षको उमेरमै २०७२ सालमा सरकारी सेवामा पाइला टेकेकी थिइन्। दिदी पार्वती १९ वर्षको उमेर हुँदा नै लोकसेवा आयोगको जाँचमा पास भएर खरिदार बनेकी थिइन् । ‘२०७२ सालको माघ ११ गते विविध सेवाअन्तर्गत खरिदारमा नाम निकालेर सरकारी सेवामा प्रवेश पाएकी हुँ,’ पार्वतीले भनिन्, ‘त्यसपछि चौथो तहको सहायक महिला विकास निरीक्षक पदमा काम गरे। २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएपछि महिला विकास निरीक्षकमा बढुवा भए।’

अर्कोतर्फ बिहिनी वसन्तीले ०७६ पुसमा सहायक स्तरको पाचौं तहमा नाम निकाल्न सफल भइन्। कक्षा १ देखि १० सम्म शान्ति निकेतन उच्च माध्यमिक विद्यालयमा पढेका उनीहरुको पदास्थापन पनि एउटै नगरपालिकामा भयो। कञ्चनपुरकै बेलौरी नगरपालिकामा पार्वती महिला विकास निरीक्षक भएर कार्यरत थिइन् भने वसन्ती वडा नम्बर ८ को वडा सचिवका रुपमा कार्यरत भइन्।

‘हामी दुबै बेलौरीमै कोठा लिएर बस्न थाल्यौं,’ पार्वतीले भनिन्, ‘शाखा अधिकृतका लागिसँगसँगै तयारी सुरु गरेका थियौं। २०७६÷०७७ सालमा शाखा अधिकृत पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेपछि दुबैले जाँच दियौं। तर पहिलो प्रयासमै नाम निकाल्न सफल भएका छौं।’ उनीहरूको अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन समूहमा अतिरिक्ततर्फ पदस्थापन गरिएको छ। मन्त्रालयले दिने तालिम सकिएपछि अर्को ठाउँमा पदस्थापन हुनेछ। ‘जुन ठाउँका हामी प्रोडक्ट हौं, सेवा पनि सोही ठाउँमा दिने इच्छा छ,’ पार्वतीले भनिन्, ‘अबको पदास्थपन आफ्नै ठाउँमा भए खुसी हुने थियौं।’

साधारण कृषक परिवारका पार्वती र वसन्तीका दुई दाइ र दुई दिदी पनि छन्। जेठो दाइ जीवन अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाइ पुष्पराज डिभी परेर अमेरिकामा छन्। जेठी दिदी जयन्ती माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षिका छिन् भने स्नातकोत्तर अध्ययनर माइली दिदी विष्णा पनि लोकसेवाको तयारीमा छिन्। साबार दिनेशखबर ।

चर्चामा

सम्बन्धित समाचार