
धनगढी — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो।
अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा धरपकड भएको बताए।
उनका अनुसार सो क्रममा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख, प्रहरी निरीक्षक गौरीशंकर जैशी घाइते भएका छन्। ‘जैशीको कानमा चोट लागेको छ,’ उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा उपचारपछि अहिले आराम गरिरहेका छन्।’
अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।


