• होमपेज
  • सुचना प्रबिधी
  • बझाङको दुर्गाथलीमा इन्टरनेटको समस्या:३ कम्पनीका इन्टरनेट जोड्दा पनि कछुवा गति

बझाङको दुर्गाथलीमा इन्टरनेटको समस्या:३ कम्पनीका इन्टरनेट जोड्दा पनि कछुवा गति

  • आइतवार, माघ १६, २०७८
बझाङको दुर्गाथलीमा इन्टरनेटको समस्या:३ कम्पनीका इन्टरनेट जोड्दा पनि कछुवा गति

अर्थ जङ्ग शाही/बझाङ — बझाङको दुर्गाथली गाउँपालिकामा भरपर्दो इन्टरनेटको सुविधा नहुँदा सेवा प्रभावमा समस्या भएको छ । गाउँपालिकाले ३ सेवा प्रदायक कम्पनीका इन्टरनेट जडान गरेको भएपनि एउटाले पनि राम्रोसंग काम नगर्दा कार्यालयका दैनिक कार्यसम्पादनमा समस्या हुन थालेको हो ।

गाउँपालिकामा इन्टरनेट नहुँदा दैनिक गर्नुपर्ने काम प्रभाबित हुन थालेपछि छुट्टाछुटै कम्पनीका इन्टरनेट जडान गरिएको भएपनि समस्या सामाधान हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशीले बताए । उनले कार्यालयमा हालसम्म मर्कन्टाइल कम्युनिकेशन, एभरेष्ट लिंक र नेपाल टेलिकमको लिजलाईनको इन्टरनेट जडान गरेपनि एउटाबाट पनि भरपर्दो सेवा पाउन नसकिएको बताए ।

‘कुनै कम्पनीको इन्टरनेट त राम्रो होला भनी अहिले सम्म ३ कम्पनीका इन्टरनेट जोडिसक्यौ’ उनले भने ‘जोडेको केही दिन राम्रो काम गर्छ त्यसपछि काम गर्न छोड्छ । कुनै पनि दिगो हुन सकेका छैनन् । आज जोड्यो भने भोली पर्सिनै बिग्रने समस्या छ । सेवा प्रदायकले कहिले टावरमा समस्या आयो भन्छन कहीले केही ।’

उनले इन्टरनेट नहुँदा बिभिन्न कार्यालयबाट आएका मेल हेर्न समेत समस्या भएको बताए । उनले कार्यालयका धेरै काम गर्न इन्टरनेट आवश्यक पर्ने बताए । ‘कतिपय पोर्टल पनि अनलाइनमै भर्नुपर्ने हुन्छ । कार्यालयका धेरैजसो आर्थिक काम पनि अनलाइन सिस्टमबाट गर्नुपर्छ’ उनले भने ‘इन्टरनेट नहुँदा धेरै काम रोकिने गरेका छन ।’

उनले जिल्लाका अन्य पालिकाहरुमा पनि इन्टरनेटको समस्या भएपनि अरु पालिकाले सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरिरहेको बताए । उनले भने ‘हामीले गाउँपालिका कार्यालयबाटै सेवा दिने भनेर सदरमुकाममा कार्यालय खोलेका छैनौ । तर, काम गर्न निकै समस्या छ ।’

उनले पालिकामा नेपाल टेलिकमको टावर भएपनि त्यो पनि सोलार सिस्टमबाट चल्ने भएकाले नियमित काम नगर्ने गरेको बताए ।
‘घाम लागे मात्रै चल्छ घाम अस्ताउने बितिकै लाईन जान्छ’ उनले भने ‘टेलिकमको टावरमा विद्युत जडान गर्न बिद्युत कार्यालयमा आग्रह गरेपनि सुनुवाई भएन ।’

उनले यस बर्ष भने गाउँपालिकाबाटै टेलिकमको टावर सम्म विद्युत बिस्तार गर्नका लागि १४ लाख बजेट बिनियोजन गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले गाउँपालिका कार्यालय लगायत पालिका भित्रका वडा र विद्यालयहरुमा पनि इन्टरनेट विस्तार गरेको भएपनि कुनै ठाउँमा पनि राम्रो संग काम नगरेको बताए ।

उनले इन्टरनेट समस्या सामाधानका लागि मष्टामाण्डौंमा रहेको टेलिकमको टावरमा विद्युत पुगाउन आवश्यक देखिएकाले यस बर्ष गाउँपालिकाबाटै बजेट बिनियोजन गरेको भएपनि सो बजेट कार्यान्वयमा पनि समस्या भएको बताए । ‘विद्युत कार्यालयको भर परेर भएन ।

आफै बिद्युत बिस्तार गर्ने भनेर बजेट बिनियोजन गरेपनि विद्युत र टेलिकम कार्यालयले तदारुकता नदेखाउँदा समस्या भएको छ’ उनले भने ‘गाउँपालिकामा इन्टरनेट नभइ काम हुँदैन । जसले गर्दा सेवाग्राहीबाट पनि गालि खानु परिरहेको छ ।’

चर्चामा

सम्बन्धित समाचार