• होमपेज
  • राजनीति
  • यी हुन् सुदूरपश्चिमबाट निर्वाचित तीन राष्ट्रियसभा सदस्य

यी हुन् सुदूरपश्चिमबाट निर्वाचित तीन राष्ट्रियसभा सदस्य

  • बुधबार, माघ १२, २०७८
यी हुन् सुदूरपश्चिमबाट निर्वाचित तीन राष्ट्रियसभा सदस्य

धनगढी — सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवारले हार व्यहोरेको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएका हुन्।

खुल्लाबाट कैलालीका मिश्र १४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्रै प्राप्त गरेका छन्। यस्तै सत्ता गठबन्धनकै माओवादी केन्द्रका जगत पार्कीले पनि १४४ मत ल्याएर निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्।

यस्तै महिलातर्फकी एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन्। महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए।

सुदूरपश्चिबाट तीन सदस्य चुन्नका लागि निर्वाचन भएको थियो। बुधबार बिहान ९ बजेबाट प्रदेश सभामा मतदान भएको थियो। मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधि गरी २२७ मतदाता सहभागी भएका थिए।

राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार बुधबार निर्वाचन भएको हो। राष्ट्रियसभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्टको फागुन २० गते पदावधि सकिँदै छ। उनीहरुको स्थानमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन्।

चर्चामा

सम्बन्धित समाचार