धनगढी — नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश भएको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको छ।
०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। जनगणना हरेक १० वर्षमा गर्ने गरिन्छ। सुदूरपश्चिमभन्दा कम जनसंख्या गण्डकी प्रदेश र कर्णाली प्रदेशको छ। यस्तै नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ। वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो। यस्तै सबैभन्दा कम जनसंख्या रहेको कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो।