• होमपेज
  • समाचार
  • महिलाको शंकास्पद मृत्यु, दुई छोरा र बुहारी फरार

महिलाको शंकास्पद मृत्यु, दुई छोरा र बुहारी फरार

  • आइतवार, माघ ९, २०७८
महिलाको शंकास्पद मृत्यु, दुई छोरा र बुहारी फरार

विराटनगर — मोरङको जहदा गाउँपालिका–७ भीमपुरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार स्थानीय ४४ वर्षीया कल्पनादेवी नुनिया आफ्नै घरको ग्वालीमा मृत फेला परेकी हुन्।

घटनाको प्रकृति हेर्दा घाँटीमा डोरीले कसेर हत्या गरेजस्तो देखिने जानकारी उनले दिए। प्रहरीले कल्पनादेवी मृत फेला परेको जानकारी शनिबार दिउँसो २ बजेतिर पाएको हो।

जीसीका अनुसार ग्वालीमा कपडा ओढाएर राखिदिएको अवस्थामा शव भेटिएको थियो। ‘कपडा ओढाएर सुताइरहेको अवस्थामा ग्वालीभित्र महिलाको शव भेटियो’, उनले भने, ‘हेर्दा घाँटीमा डोरीले कसेको डाम एवम् चोट छ।’घटनापछि कल्पनाका दुई जना छोरा र बुहारीहरु फरार छन्।

एसपी जीसीले घटनापछि फरार रहेका जेठा छोरा २८ वर्षीय प्रधुम राजभर र कान्छा छोरा २१ वर्षीय चैतन्य राजभरसहित दुवै जनाका श्रीमतीको खोजी तीव्र पारिएको जानकारी दिए।

कल्पनादेवीका माइलो छोरा भने काम गर्न नारायणगढ गएको खुलेको छ। घरमा कल्पनादेवी, उनका पति विन्देश्वर नुनिया, दुई छोरा र बुहारी तथा बोल्न नसक्ने अवस्थाकी १७ वर्षीया छोरी बस्ने गरेका थिए। स्थानीय बासिन्दाका अनुसार प्रायजसो छोराहरुले कल्पनादेवीसँग झैझगडा गरिरहन्थे।

झैझगडाकै क्रममा डोरीले घाँटी कसेर उनको हत्या गरेपछि छोरा र बुहारीहरु फरार भएको हुनसक्ने प्रहरीको भनाइ छ। ‘शव भेटिनुअघिसम्म छोरा–बुहारी घरमै रहेको पत्ता लाग्यो’, एसपी जीसीले भने, ‘घटनास्थलमा प्रहरी पुग्दा उनीहरु फरार भइसकेका थिए।’ शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएर घटनाको अनुसन्धान थालिएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार