काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ। शुक्रबार भएको सर्वदलीय बैठकमा आयोगले आगामी जेठ ५ गतेअघि नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको हो।
त्यसका लागि माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने आयोगका पदाधिकारीहरुको भनाइ थियव। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताए।
संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ। बैठकमा नेकपा एमालेका नेता विष्णु रिमालले आयोगले तयारीका लागि १२० दिनको समय राखेरै आगामी वैशाखमा १४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको, तर सरकारले त्यसबारे निर्णय गर्न ढिलाइ गरेको बताएका थिए।
आयोगले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँगको छलफलमा ०७९ साल वैशाख १४ गते एकै चरणमा वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको थियो।