
राजधानीमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ । उपचाररत ती बालिकाको शनिबार मृत्यु भएसँगै यस्तो खुलासा भएको हो ।
सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको हो । कक्षा ७ मा अध्ययनरत उनी बिरामी परेको र निको बनाउने भन्दै नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित पानीट्याङ्कीकी धामी उमा शाही ठकुरीले जिम्मा लिएको पाइएको प्रहरीले जनाएको छ ।
गत पुस ३ गते मृतककी आमाले छोरीलाई धामीको झारफुक केन्द्रमा लगेकी थिइन् । त्यहाँ लगेपछि ठकुरीले आफूले बिरामी निको बनाउने भन्दै छाडेर जान भनेकी थिइन् । तर, शनिबार एकाएक अवस्था गम्भीर भएको भन्दै परिवारलाई खबर गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएकी किशोरीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले घामी ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले बताए । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको भन्दै उनले यसबारे अनुसन्धान सुरु गरिएको बताए ।
धामीलाई अहिले महानगरीय प्रहरी बृत्त स्वयम्भूको हिरासतमा राखिएको छ । मृतकका बुबा भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बताइएको छ ।
