
काठमाडौं — अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ। निसीखोला गाउँपालिका–१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका–३१ अनामनगर बस्दै आएका रामबहादुर मल्ललाई पक्राउ गरिएको हो।
मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ। आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए।
