• होमपेज
  • राजनीति
  • माओवादी केन्द्रको बन्दसत्र सुरु

माओवादी केन्द्रको बन्दसत्र सुरु

  • सोमवार, पुस १२, २०७८
माओवादी केन्द्रको बन्दसत्र सुरु

काठमाडौं — नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको छ ।

आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ ।

सुरुमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार