
विराटनगर — बजार जान भनेर घरबाट हिँडेका मोरङ केराबारीका एकजना वृद्ध बुधबार झाडीमा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार केराबारी गाउँपालिका–१० का ६२ वर्षीय लोकबहादुर सार्की (बस्याल) मृत फेला परेका हुन् ।
सार्की मंगलबार दिँउसो बजार जान भनेर घरबाट निस्किएका थिए । घर नफर्किएपछि परिवारका सदस्य र आफन्तले खोजी गर्ने क्रममा केराबारी–१० मै साप्ताहिक हटिया लाग्ने ठाउँ नजिकको झाडीमा मृत फेला परेको श्रेष्ठले बताए ।
उनका अनुसार घोप्टो परेको र मुख तथा हातबाट रगत बगिरहेको अवस्थामा सार्कीको शव फेला परेको हो । उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए।
