• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुदूरपश्चिममा ५६ प्रतिशत नागरिकले अझै पाएनन् कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा ५६ प्रतिशत नागरिकले अझै पाएनन् कोरोनाविरुद्धको खोप

  • सोमवार, मंसिर २७, २०७८
सुदूरपश्चिममा ५६ प्रतिशत नागरिकले अझै पाएनन् कोरोनाविरुद्धको खोप

धनगढी — सुदूरपश्चिम प्रदेशमा १७ वर्षमाथिका तथा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने जनसंख्या १९ लाख ४८ हजार ३ सय ८८ छ। तर प्रदेशका ५६ प्रतिशत अर्थात झण्डै ११ लाख जनसंख्याले अझै खोप पाएका छैनन्। प्रदेशका लक्षित जनसंख्याको ४६ प्रतिशतले मात्र पूर्ण खोप तथा ५६ प्रतिशतले पहिलो मात्रा पाएको प्रदेश सरकारको तथ्यांक छ।

प्रदेशमा कोभिशिल्ड खोपको ३ लाख १८ हजार मात्रा आएको छ। अस्ट्राजेनिका दुई लाख ४९ हजार ४ सय तथा जोन्सन एण्ड जोन्सनको एक लाख ३६ हजार ८ सय मात्रा खोप सुदूरपश्चिममा आएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले समग्र रुपमा खोपमा राम्रो प्रगति भएको बताए। ‘पहिलो मात्रा ५० प्रतिशत भन्दा बढीलाई लगाइएको छ,’ उनले भने, ‘पूर्ण खोप भने ४६ प्रतिशतले पाएका छन्।’

प्रदेशमा हालसम्म सबैभन्दा धेरै भेरोसेल खोप १४ लाख ३८ हजार ९ सय ६५ मात्रा आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीको तथ्यांक छ। अहिलेसम्म प्राप्त भएको खोप १८ वर्षभन्दा माथिकालाई मात्र लगाइएको छ। १२ देखि १७ वर्ष उमेर समूहका नागरिकको भने अझै तथ्यांक संकलन भएको छैन। तर आगामी पुसपछि १७ वर्ष भन्दा मुनिकालाई खोप लगाउन सुरु गर्ने दाबी प्रदेश सरकारको छ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि हुँदा पनि प्रदेशका १८ वर्ष भन्दा माथिका ५६ प्रतिशत भन्दा बढी नागरिकले खोप पाएका छैनन्। ओमिक्रोनको संक्रमणबाट सुरक्षित रहनका लागि बुस्टर डोज लगाउनु पर्ने हो। तर यस विषयमा भने संघीय सरकारले नै आधिकारीक निर्णय नगरेको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताए। ‘हामी बुस्टर डोजको लागि पनि प्रयास गर्दै छौं,’ उनले भने, ‘१७ वर्ष भन्दा मुनिकालाई पनि खोप लगाउने तयारी भइरहेको छ।’

सुदूरपश्चिमका लागि हालसम्म २१ लाख ४३ हजार एक सय ६५ डोज खोप प्राप्त भएको छ।दिनेश खबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार