बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको मतदान सकियो

एमालेको मतदान सकियो

  • मङ्लबार, मंसिर १४, २०७८
एमालेको मतदान सकियो

चितवन — नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । एमाले नेता योगेश भट्टराईले मतदान सकिएको साढे एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए ।

मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार