• होमपेज
  • समाचार
  • रिसिबीका कारण पुरुषको हत्या, ५ जना आरोपी पक्राउ

रिसिबीका कारण पुरुषको हत्या, ५ जना आरोपी पक्राउ

सेफ्टी ट्यांकीबाट निकालियो शव

  • सोमवार, कार्तिक २९, २०७८
रिसिबीका कारण पुरुषको हत्या, ५ जना आरोपी पक्राउ

झापामा रिसिबीका कारण एकजना पुरुषको हत्या भएको छ । गौरादह नगरपालिका–५ घर भएका ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह घर भएका ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, वर्ष २६ का महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षकी कुर्समान खातुन छन् ।

कात्तिक ११ मा घरबाट हिँडेका मबेसिर हुसेन मियाँको शव कात्तिक २६ मा महम्मद सद्दामको घरमा फेला परेको झापाका एसपी सानुराम भट्टराईले  बताए । महम्मद सद्दामकी पत्नी सुमेरन खातुनलाई मृतकले फोन र म्यासेज गरेको भन्दै केही समय पहिले गाउँमा छलफल गरेका थिए । सो रिस साँध्न सद्दामले पत्नीमार्फत मबेसिरलाई घरमा बोलाए ।

घरमा पाँच जना मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले बताए । महम्मद सुलेमानका दम्पतीसँग पनि मृतकको पुरानो रिसिबी थियो । सुलेमानका ससुरा बलात्कार मुद्दामा जेलमा छन् । बलात्कार मुद्दामा ससुरालाई फसाउन मबेसिरले भूमिका खेलेको भन्दै सुलेमानका दम्पतीले रिस साँधेर बसेका थिए ।

कुर्समान खातुनचाहिँ महम्मद सद्दामकी दिदी हुन् । हत्यामा उनको सहयोगी भूमिका देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घरमा आएका मबेसिरलाई सद्दाम दम्पतीसहित ५ जना मिलेर घाँटी काटेर र ह्यामरले टाउकोमा हिर्काएर विभत्स तरिकाले हत्या गरेका थिए ।

हत्या गरेर शवलाई कम्बलमा पोको पारेर सेफ्टी ट्याङ्कीमा लुकाए । हत्या गरेको कोठाको रगत हटाउन गेरु रंगको माटोले लिपपोत गरेका थिए । रगत लागेको भाग मेट्न पोतेको आशंकामा अनुसन्धान गर्दै जाँदा सेफ्टी ट्यांकीमा शव भेटिएको एसपी भट्टराईले बताए । अपराध छिपाउन उनीहरुले शव राखिएको सेफ्टी ट्यांकीमाथि आलो गोबरको गुँईंठा बनाएर चाङ लगाएर राखेका थिए । पक्राउ परेकाहरुले प्रहरीसँग हत्या गरेको स्वीकारेका छन् ।

चर्चामा

सम्बन्धित समाचार