
बाँके – बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरिया रहेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ ।
२५ गते गाई चराउन जङ्गल गएका गडरियाको शव गएराति पिठ्युँको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो । घाँटी र शरीरका अन्य भागमा पनि बाघको नङ्ग्राले कोतरेको पाइएको प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो । बाघले एउटा गाई समेत मारेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताउनुभयो । बाँकेको राप्तीसोनारीस्थित गाभरमा पनि केही समय अघि मात्रै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
