• होमपेज
  • समाचार
  • कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा एमालेभित्र चर्को विवाद

कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा एमालेभित्र चर्को विवाद

  • आइतवार, कार्तिक २८, २०७८
कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा एमालेभित्र चर्को विवाद

धनगढी — कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी भएको भन्दै नेकपा एमालेभित्र विवाद बढ्दै गएको छ। मसिर १० गतेदेखि चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटमा केपी शर्मा ओली पक्षले मनोमानी गरेको भन्दै विवाद बढेको हो।

आन्तरिक प्रतिस्पर्धाबाट बञ्चित गराएर अवैधानिक रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको आरोप लागेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधि छनोट भइसकेकोमा केही नेताले विरोध जनाउँदै विज्ञप्ती नै जारी गरेका छन्।

एमाले नेता शम्भु कुँवर, तेजबहादुर रावल, तारा कलेल र मिठ्ठुबहादुर कुँवरले विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन्। ‘जनताको बहुदलिय जनवादलाई सिद्धान्तको रुपमा अगिंकार गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धा गर्न÷गराउनबाट बञ्चित गराउनु भनेको जनताको बहुदलिय जनवादकै खिलाफ रहेको हाम्रो बुझाई छ,’ विज्ञप्तीमा भनिएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन बम, राजेश खाती, डिल्लीराज खडका, झुमा चौधरी र छाया थापा महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन्।

यस्तै एमालेका नेता तथा सांसद झपट रावलले पनि कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन्। नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन्।

जिल्लामा एकता प्रक्रियाका नाममा पूर्वमाओवादको तर्फबाट पूर्ण परिचय समेत नखुलाइकन सदस्यता वितरण भएको र उनीहरूलाई नै महाधिवेशन प्रतिनिधि छनोट गरिएको पनि आरोप लागेको छ। ‘जिल्लामा पार्टी उपाध्यक्ष भीम रावल निकट अधिकांश नेतालाई महाधिवेशन प्रतिनिधि नै नबनाउने चलखेल भइरहेको छ,’ एमालेका एक नेताले भने, ‘महाधिवेशनका लागि आन्तरिक प्रतिस्पर्धा गर्नु पाउनु पार्टी सदस्यको अधिकार हो। तर कैलालीमा उक्त अधिकारबाट बञ्चित गराइएको छ।’

यता एमाले कैलालीका उपाध्यक्ष रणबहादुर रावलले भने प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउनु सामान्य नै रहेको बताए। ‘ठूलो पार्टीमा स–सना विवाद आइहाल्छन्,’ उनले भने। कैलाली जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न शनिबारदेखि छलफल सुरु भएको छ। अधिकांश क्षेत्रबाट प्रतिनिधि छनोट भइसकेका छन्।दिनेशखबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार