
विराटनगर — विराटनगरको हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भएको छ । दुई पक्षबीच बिहान १० बजेतिर झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् ।
झडपका कारण कैदीबन्दीले भरिभराउ रहेको कारागार अशान्त बनेको छ । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार आन्तरिक प्रशासनप्रति कैदीबन्दीले असन्तुष्टि व्यक्त गरेपछि दोहोरो झडप भएको पाइएको छ । कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको जानकारी उनले दिए ।
झडपमा परेर चौकीदार किरण गुरुङसहित अरु कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएको पोखरेलले बताए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको छ। निमित्त जेलर पोखरेलले झडपमा कारागारभित्र मुढा बनाउने बाँसका भाटालगायतको प्रयोग भएको पाइएको छ ।
‘चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए,’ स्रोतले भन्यो, ‘त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो ।’
स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरुद्ध अर्को समूह जाइलागेको हो । निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार चौकीदारको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलितसमेत भएका छन् ।
चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरुले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरु कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ।
आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका छन् । कैदीबन्दीले चौकीदार गुरूङ, नाइके र भाइनाइकेसहित पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मोक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईसमेतका कैदीबन्दीलाई एउटा कोठामा थुनेका हुन् ।
एउटा कोठामा थुनेर राखिएका कैदीबन्दीलाई प्रहरीले कारागारबाट बाहिर निकालेर राखेको छ। उनीहरुलाई बाहिर निकालिएपछि कारागारभित्रको तनाव केही मत्थर भएको छ। कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि १४ जनालाई नै अरु कारागारमा स्थानान्तरणको तयारी भइरहेको निमित्त जेलर पोखरेलले बताए ।
‘झडपका कारण कारागारभित्र केही तनाव उत्पन्न भयो । अरु कैदीबन्दीले १४ जनालाई एउटा कोठाभित्र थुनेर राखिदिएका रहेछन्,’उनले भने,‘प्रहरीले उनीहरुलाई कारागारबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखेको छ। विवादमा नाम जोडिएका १४ जनालाई नै अर्को कारागार स्थानान्तरणको पहल भइरहेको छ ।’ उनीहरुलाई मोरङ कारागारमै राख्दा अवस्था थप तनावपूर्ण बन्ने र कैदीबन्दी पनि असुरक्षित हुने पोखरेलको भनाइ छ ।
झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार एउटा कोठामा थुनेर राखिएका चौकीदारसहितका कैदीबन्दीलाई बाहिर निकालिएपछि कारागारभित्रको माहोल केही शान्त भएको छ ।
काठमाडौंस्थित डिल्ली बजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई ल्याउने चर्चासँगै भदौयता मोरङ कारागारमा नियमितजसो तनाव भइरहेको छ । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका अपराधिक पृष्ठभूमिका गुन्डा नाइके हुन् ।
कांग्रेस नेताहरुको संरक्षणमा अपराधिक धन्दा चलाइरहेका उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै मोरङ कारागारको चौकीदार बनाएर ल्याउन खोजिएको थियो ।
डिल्ली बजार लैजानुअघि गिरी मोरङ कारागारमै चौकीदार थिए । कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरिरहेको खुलेपछि उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो । गिरी र उनको समूहले कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरिरहेको थियो ।
गिरीलाई डिल्ली बजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याउने भएपछि जिम्मेवारीमुक्त गर्दै राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरियो । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका राईले समेत कारागारभित्र बसेर अपराधिक गतिविधी गरिरहेको र अकूल सम्पत्ति आर्जन गरेको खुले पनि उनीमाथि कुनै छानबिन एवं कारबाही हुन सकिरहेको छैन । राईको समूहले कारगारभित्र दिने गरेको यातनाका कारण भदौमा मात्रै चार जनाको मृत्यु भएको स्रोतले बतायो।
चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ। कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक लाखौँ रूपैयाँ आम्दानी गर्ने गरेको बताइन्छ । गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा गत भदौ १७ गते डिल्ली बजारबाट मोरङ सरुवा गरिएका गिरीलाई गत कात्तिक १६ गते मोरङ ल्याइएको थियो।
तर कैदीबन्दीका आफन्त र कारागारभित्र रहेका कैदीबन्दीसमेत आन्दोलित बनेपछि उनलाई सप्तरी कारागार लगिएको छ । आफू मोरङ बस्न नपाएपछि उनकै उक्साहटमा विवाद झिकेर गिरीनिकटका अरु कैदीबन्दी आक्रमणमा उत्रदा दोहोरो झडप भएको आंकलन गरिएको छ। २ सय ५० जना क्षमताको मोरङ कारागारमा अहिले ८ सय ९७ जना कैदीबन्दी रहेका छन्।अन्नपुर्ण पाेस्टबाट साबार ।
