• होमपेज
  • राजनीति
  • बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

  • सोमवार, कार्तिक २२, २०७८
बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो। तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्। यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ। पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए। उनले भने, “अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ।”
हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन, पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन्। यस्तै दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन्।

यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते गर्नेछ। प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ। एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

रासस

चर्चामा

सम्बन्धित समाचार