
कैलाली — नेपाल प्रहरीले कैलाली–कञ्चनपुरबाट दसैंतिहारको समयमा मात्रै एक सय ४४ जना जुवाडे पक्राउ गरेको छ। जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले साढे १७ लाख बढी रकम समेत बरामद गरेको बताएको छ।
कैलाली प्रहरीले तिहारको समयमा जुवातास खेल्ने र खेलाउने ४९ जनालाई पक्राउ गरेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका, बर्दगोरिया, लम्कीचुहा र गोदावरी नगरपालिकाबाट विभिन्न मितिमा कैलाली प्रहरीले जुवाडे पक्राउ गरेको हो। कैलाली प्रहरीले जुवाडेहरुबाट ३ लाख ७७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता, प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए। ‘हामीले सादा पोसाकका प्रहरी खटाएर जुवातास खेलिने सम्भावित ठाउँ पहिचान गर्ने गरेका छौँ’ उनले भने, जुवातास खेल्नेहरुलाई कैलाली प्रहरीले मुद्दा चलाएको छ।’
उता कञ्चनपुर प्रहरीले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट जुवातास खेल्ने ९५ जनालाई पक्राउ गरेको छ। ४ महिनामा कञ्चनपुर प्रहरीले जुवाडेहरुबाट ८ लाख १४ हजार ५ सय १० नगद र ६ लाखको चेक बरामद गरेको छ। जिल्लामा जुवातास नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। ‘कञ्चनपुर प्रहरीले जुवातास नियन्त्रण अभियान चलाएको छ। विभिन्न समयमा प्रहरीले पक्राउ गरेका ११ जनालाई मुद्दा चलाएको छ’ उनले भने।
यसरी सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाबाट प्रहरीले कूल १७ लाख ९२ हजार १ सय २ रुपैयाँ बरामद गरेको छ। कैलाली र कञ्चनपुरमा प्रहरीले जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको दाबी गरेको छ। जुवातासले घरबारबिहिन बनाउने र परिवार तथा समाज नै पीडित हुने भन्दै प्रहरीले अभियान सञ्चालन गर्नुपरेको बताएको छ। पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अनुसार कारबाहीसमेत गरिने प्रहरीको दाबी छ। जुवातासको लतमा परे सामाजिक र आर्थिक रुपले व्यक्ति तथा उसको परिवारले क्षति व्यहोर्नुपर्ने हुँदा जुवातासबाट टाढै रहनुपर्ने प्रहरी सुझाव छ। दिनेश खवरबाट
