शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • कर्णाली र सुदूरपश्चिममा प्रधानमन्त्री देउवाका आश्वासन – बाढी पहिरो पीडितलाई राहत, एमसीसी पास

कर्णाली र सुदूरपश्चिममा प्रधानमन्त्री देउवाका आश्वासन – बाढी पहिरो पीडितलाई राहत, एमसीसी पास

  • शुक्रबार, कार्तिक ५, २०७८
कर्णाली र सुदूरपश्चिममा प्रधानमन्त्री देउवाका आश्वासन – बाढी पहिरो पीडितलाई राहत, एमसीसी पास

काठमाडौँ — बेमौसमी वर्षाले उत्पन्न गरेको डुबान, बाढी र पहिरोले प्रभावित कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहत दिने अभिव्यक्ति दिएका छन् । त्यसै क्रममा देउवाले राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा पनि अभिव्यक्ति दिएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा कञ्चनपुरको भुजेलमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली । तस्बिर : भवानी भट्ट
प्रधानमन्त्री देउवा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा पूर्वमन्त्रीहरू एनपी साउद र रमेश लेखकलाई साथमा लिएर बाढी र पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न गएका थिए ।

बेमौसमी वर्षका कारण सबैभन्दा बढी प्रभावित सुदूरपश्चिममा पुगेर देउवाले योजनाबद्ध रूपमा प्रभावितका लागि राहतका कार्यक्रम र योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितका लागि राहत र उद्धारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सुर्खेत, दिपायल, बझाङ, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा बाढी, डुबान र पहिरोले पारेको प्रभावको निरीक्षण गरेका छन् । उनले महाकाली तटीय क्षेत्र तथा ब्रह्मदेवदेखि कुतियाकभरसम्म हेलिकप्टरबाटै निरीक्षणसमेत गरेका थिए ।

कर्णाली र सुदूरपश्चिमका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रका जनप्रतिनिधि र पीडितबाट देउवाले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।  बाढी, डुबान र पहिरो प्रभावित जनताको राहतका लागि सरकारले कुनै कमी हुन नदिने अभिव्यक्ति दिएका देउवाले राष्ट्रिय राजनीति र पार्टीका विषयमा पनि आफ्ना कुरा राखेका छन् ।

शुक्रबार बिहान धनगढीमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा देउवाले एमसीसी, नेपाली कांग्रेसको महाधिवेशन र प्रतिनिधिसभाको चुनावबारे आफ्ना धारणा राखेका हुन् ।

सत्ता गठबन्धनभित्रै विवादमा रहेको एमसीसी पास हुनुपर्ने देउवाले बताएका छन् । उनले आफू एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको तर्क गरेका हुन् । ‘एमसीसी पास गर्ने पक्षमा छौं । एमसीसीको सम्बन्धमा झुटा प्रचार गरिएको छ,’ एमसीसी पास गर्नुपर्नेबारे उनका तर्क थिए, ‘विश्व बैंक र एडीबी (एसीयाली विकास बैंक) को कानुन नेपालमा लागु हुँदैन, अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ । यो (एमसीसी) त अनुदान हो । नेपालको कानुन लागु हुन्छ भनेको छ, उनीहरूले नेपालको कानुन नै एमसीसीभन्दा माथि हुन्छ भनिसके । एमसीसी नेपालको कानुन भन्दा तल हो भनिसके, उनले स्पष्टिकरण दिइसके ।’

नेपालले विश्व बैंक र एडीबीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागु हुने तर एमसीसीले अनुदान दिँदा नेपालको कानुन लागु हुने अवस्थामा पनि विवाद गरिरहन आवश्यक नभएको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘यो त अनुदान हो, सित्तै दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् । हद भैसक्यो ।’

निश्चित समयभन्दा पहिल्यै प्रतिनिधिसभाको चुनावबारे पनि प्रधानमन्त्री देउवाले आफ्ना धारणा राखेका छन् । उनले आफू गठबन्धनको प्रधानमन्त्री भएकाले यसबारेमा अरु नेताहरूसँग पनि छलफल गर्ने बताए । उनले काठमाडौं फर्किएर समय अगावै चुनाव गर्नेबारे सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताएका हुन् ।

त्यस्तै, कांग्रेसको चौधौं महाधिवेशन सर्छ कि सर्दैन भन्नेबारे सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले घुमाउरो जवाफ दिएका छन् । उनले कांग्रेसको महाधिवेशन गर्ने जिम्मा आफ्नो नभई पार्टीको निर्वाचन आयोगको भएको जवाफ दिए । ‘कांग्रेस महाधिवेशन निर्वाचन समिति छ । निर्वाचन समितिले के भन्छ त्यस अनुसार हुन्छ । महाधिवेशन सुरु भइसकेको छ । अहिले कोभिड र बाढी पहिरोको कारण छ । उहाँहरूले कहिलेदेखि चुनाव गराउने उहाँहरूलाई सोध्नुस्,’ उनले भने ।

प्रधानमन्त्री देउवाले आउँदो बैशाखसम्म सबै नेपाली नागरिकलाई कोरोनाको खोप लगाइसक्ने पनि बताएका छन् । उनले सरकार त्यो योजनामा अगाडि बढेको जानकारी गराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार