शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

  • शनिबार, अशोज ३०, २०७८
अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो । कान्दहारमा भएको यो आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान गरिएको छ । कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यो शहरलाई तालिबानको आध्यात्मिक उदगमस्थल पनि मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार