
काठमाडौं — नाकमा मकैको दाना अड्केपछि एक बालिकाको उपचारका क्रमा मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
बालिकाको मृत्यु भएपछि पीडित पक्ष आन्दोलित भएको छ। डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै उचित छानबिनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो।
पीडित पक्षले ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको दाबी गरेको छ। अस्पतालले बालिकाको श्वासनलीमा समस्या आएको र आइसियू खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाब दिएको थियो।
बेड खाली भए यतै राखौँला भनेपछि सोही अस्पतालमा राखिएको थियो। एक्कासि राति १० बजे डाक्टरहरुले बालिकाको मृत्यु भएको जानकारी गराएका थिए।
