• होमपेज
  • राजनीति
  • बझाङको अधिवेशनमा खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन:चुनाव भयो स्थगित

बझाङको अधिवेशनमा खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन:चुनाव भयो स्थगित

  • सोमवार, अशोज १८, २०७८
बझाङको अधिवेशनमा खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन:चुनाव भयो स्थगित

अर्थ जङ्ग शाही/बझाङ — नेपाली कांग्रेस बझाङको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन भएका छन् । अधिवेशनका क्रममा उम्मेदवारी दर्तावापतको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता भएपछि बझाङ कांग्रेसमा अन्योल देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिबाट जिल्ला मतदान अधिकृतका रुपमा खटिएका डडेलधुराका चेतराज भट्ट निर्वाचन नगराई सम्पर्कविहीन भएका हुन् । उनको साथमा अधिवेशनमा उम्मेदवारी शुल्कवापत उठेको करिब ७ लाख रकम रहेको बताइएको छ ।

बझाङमा असोज १५ गते जिल्ला अधिवेशन उद्घाटन भएको थियो भने असोज १६ गते शनिबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको थियो । २५ जना महाधिवेशन प्रतिनिधिका लागि ७५ जनाले ५ हजारका दरले शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका थिए । त्यस्तै जिल्ला सभापतिका उम्मेदवारहरु खडबहादुर बोहरा र रमेशबहादुर भण्डारीले १०-१० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाएका थिए । निर्वाचन समितिले जिल्ला उपसभापति र सचिवका लागि ७ हजार तथा सहसचिवका लागि ६ हजार रुपैयाँ शुल्क लिएको थियो ।

‘आज निर्वाचन गराउनुपर्ने हो तर निर्वाचन अधिकृत नै वेपत्ता भएकोले अन्यौल बढेको छ । उहाँसंग अधिवेशनका लागि उठाइएको लाखौं पैसा पनि छ । उहाँ भागेको हो वा हार्ने देखेर लुकाइएको हो थाहा भएन’, बझाङका एक क्षेत्रीय प्रतिनिधिले बडिमालिका खबरसँग भने । बझाङमा संस्थापन पक्षकै दुई उम्मेदवार सभापतिको प्रतिस्पर्धामा थिए ।

खडक बहादुर बोहरालाई संस्थापनइतर समूहका नेताहरुको पनि सहयोग रहेको थियो ।

निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि एक पक्षले तत्काल अर्को निर्वाचन अधिकृत तोकेर मतदान गराउन माग गरेको छ भने अर्को पक्ष दसैँपछि चुनाव गराउनुपर्ने पक्षमा देखिएको छ ।

बडिमालिका खबरले सम्पर्क गर्न खोज्दा निर्वाचन अधिकृत भट्टको मोबाइल स्वीच अफ थियो भने फेसबुकमा शनिबारमात्रै उनले ‘बझाङको बार्दलीबाट’ भन्दै फोटो पोस्ट गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार