
अर्थ जङ्ग शाही बझाङ्ग — जिल्लाका ग्रामिण सडकहरुमा चल्ने सानासवारीहरुले चर्को भाडा असुली गरेको गर्न थालेका छन । सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा भन्दा बझाङमा स्थानिय भाडा दर बढी रहेको भए पनि जिल्लाका जिप व्यवसायीहरुले स्थानिय प्रशासनले तोकेको भाडा दर पालना गरेका छैनन । यहाँको बागथला बिजगडा, तमैल खप्तडछान्ना, मौरीबगर ब्याँसी सुर्मा, चैनपुर सुर्मा, सडक खण्डमा जिप व्यवसायीहरुले मनपरी भाडा लिन थालेको यात्रुहरुको गुनासो छ । यस्तै चैनपुर रुपातोला तल्कोट, चैनपुर मष्टा, चैनपुर कैलास लगायतका ग्रामिण सडकमा चल्ने जीपहरुले समेत चर्को भाडा असुल्ने गरेका छन् । कतिपय चालकहरुले चर्को भाडा लिएर पनि यात्रुहरुलाई समयमा गन्तव्यमा नपुर्याई विचबाटैमा छोड्ने र जीप रिर्जब गरे मात्र जाने भाडादरमा जान नमान्ने गरेको गुनासो समेत आउन थालेका छन । स्थानिय प्रशासनले बझाङ जिल्ला भित्र चल्ने गाडीको हकमा पक्की बाटोमा प्रतिकिलोमिटर ६.२५ रुपैया र कच्ची बाटोमा १० रुपैया भाडा दर तोकेको छ । तर बझाङमा भने तोकिएको भन्दा दोब्बर बढी सम्म भाडा लिने गरेको पाइएको छ । चैनपुर देखी रुपातोलासम्मको १६ किलोमिटर सडकमा ४सय देखी ५सय सम्म भाडा असुल्ने गरेको यात्रुहरु बताउछन । यस रुटमा नियमित यात्रा गर्ने तलकोट गाउँपालिकाका शिव भण्डारी भन्छन । ‘यात्रुहेरेर भाडा लिन्छन । गाडी पुरै भरिएको छ भने ४ सय नभए ५ देखि ६ सय सम्म पनि असुल्छन । आउँदा एउटा रेट हुन्छ, जाँदा अर्कै रेट लगाएका हुन्छन । जिपवालाको मनपरी छ’ यस्तै बागथला देखी बिजगडा सम्मको १७ किलोमिटरमा ६ सय सम्म भाडा असुल्ने गरेको बुङ्गल क्षेत्रका स्थानियको गुनासो छ । ‘बागथला बाट बिजगडा सम्मको भाडा १ सय ७० रुपैया हो तर उनीहरुले ५ सय देखि ६ सय सम्म लिने गरेका छन ।’ बुङ्गल नगरपालिकाका जनक विष्टले भने । उनले यहाँ जिप चालकहरुको सिन्डिकेट कायमै रहेको र यात्रुले जिप संचालकहरुको तोकेको गाडीमा मात्र जानु पर्ने बाध्यता रहेको बताए । यस्तै दुर्गाथलीको मौरीबगरबाट दुर्गाथली गाउँपालिकाको कार्यालय सम्म करिब ६ किलोमिटरको भाडा दुई सय सम्म लिने गरेको स्थानीयको गुनासो छ । चर्को भाडा तिरेर मात्र यहा“ स्थानियले सहज ढंगले यात्रा गर्न पाएका छैनन । गाडी भरी यात्रु नभएमा जिपहरु अन्तिम गन्तव्य सम्ममा नजाने गरेको र यात्रुहरुसंग अभद्र व्यवहार समेत गर्ने गरेका छन । ‘तमैलदेखी गडरायसम्म १७ किलोमिटरको भाडा ९ सय ५० देखि हजार रुपैया सम्म असुल्छन ।’ खप्तडछान्ना गा“उपालिकाका मंगल खडकाले भने ‘भाडाको विषयमा विवाद गरेमा यात्रुलाई गाली गर्ने र हातपात समेत गर्ने गरेका छन । यहा“ जिपवालाको दादागिरीे छ’ यस रुटमा जिप बुकिङ्क गर्दा यहीका गाडीहरु मात्र बुकिङ गर्नु पर्ने नियम जिप संचालकहरुले लगाएको उनले बताए । १७ किलोमिटरको दुरीमा बुकिङ्क गर्दा ५ देखि ७ हजार सम्म लिने गरेको र बाहिरका गाडी सस्तोमा बुकिङ्क गर्न खोजेमा विभिन्न बहानामा गाडी रोक्ने गरेको स्वयं जिपचालकहरु नै बताउछन । एक जना यातायात ब्यवसायिले भने’जिल्लामा सबै भन्दा बढी जिप रहेको बझाङ सार्वजनिक यातायात समितिले जिल्लाका धेरै ग्रामिण सडकहरुमा सिन्डीकेट लागु गरिरहेको र अन्य ब्यवसायिलाई रोडमा यात्रु पनि हाल्न दिदैनन । बुकिङ्क गरेर ल्याएको छ भने पनि सोधी खोजी गरेर दुख दिने गरेका बताए । यस्तै ग्रामिण रुटमा चल्ने गाडीले ट्राफिक नियमको वेवास्ता गर्दै सिटको क्षमता भन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु हाल्ने र तिब्र गतिमा गाडी हाँक्ने गरेको स्थानियको गुनासो छ । यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिप चालकहरुको मनोमानीका विषयमा आफु कहाँ गुनासो आएको बताउदै केही दिन अघि जिप संचालकका प्रतिनिधीहरुलाई बोलाएर यसो नगर्न सचेत गराएको बताए । स्थानियको गुनासोका आधारमा विभिन्न ग्रामिण सडकहरुमा छड्के जाँच गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने ‘अब मनपरी हुन दिन्नौ । नियम विपरीत काम गर्नेलाई कारबाही गर्ने तयारी गरिरहेका छौ ।’
