• होमपेज
  • समाचार
  • हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

  • मङ्लबार, अशोज ५, २०७८
हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए।

घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले बताए। कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी साहले बताए।

हात्तीको आक्रमणबाट खत्वेको मृत्यु भएपछि आक्रोशित स्थानीयले आन्दोलन सुरु गरेका छन्। पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन्।

जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित राहत दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको साहले बताए।

केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार