• होमपेज
  • समाचार
  • १६ वर्षीया किशोरी बलात्कार आरोपमा ९ जना पक्राउ

१६ वर्षीया किशोरी बलात्कार आरोपमा ९ जना पक्राउ

  • बुधबार, भदौ २३, २०७८
१६ वर्षीया किशोरी बलात्कार आरोपमा ९ जना पक्राउ

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेतमा ९ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको बताए।

बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उनले बताए। पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोमबार उजुरी दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

किशोरीले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन्। जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाघरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए।

उनकाअनुसार मुद्दा दर्तापछि किशोरी आफैँले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन्।

बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका ९ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

चर्चामा

सम्बन्धित समाचार