
सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन्। जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोसपामा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी बताए।
उनले लोसपा रोजेपछि अब प्रदेशसभामा जसपाको तर्फबाट मालामतीकुमारी राना मात्रै छिन्। गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा महन्त ठाकुर समूहलाई साथ दिदै आएकी थिइन्। तर पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन्।
जसपा र एमाले विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभामा ६ दल बनेका छन्। एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो बनेको छ। यस्तै १३ सांसदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो दलको रुपमा छ।
