दार्चुला — दार्चुलामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुहूँ गाउँपालिका वडा नम्बर १ बास्पालीका ६५ वर्षिय नर सिंह महरको मृत्यु भएको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसरा घरमाथिबाट खसेको पहिरोमा पुरिएर महरको मृत्यु भएको हो भने उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता छिन।
यस्तै दुहूँ गाउँपालिका वडा नम्बर ५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षिय मनुवा डडाल बेपत्ता भएका छन। वेपत्ता डडालको खोजी कार्य भइरहेको छ। जिल्लासँगको सडक सम्पर्क समेत टुटेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। उनीले भने, ‘पुल नदीले बगाएको छ। सडक सञ्जाल तोडिएको छ। म यहि छु। अन्य ठाउँमा फोन सम्पर्क हुँदैछैन्। कुन–कुन ठाउँमा क्षति भएको छ। बुझ्दैछु।’
पहिरोले दुहूँ गाउँपालिकाका तीन घरमा क्षति भएको छ भने एक दर्जन घरहरु जोखिम रहेका छन्। बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल लगाएतमा क्षति पुगेको छ।