• होमपेज
  • समाज
  • घरायसी विवादमा छोराबाटै बुवा र श्रीमतीको हत्या

घरायसी विवादमा छोराबाटै बुवा र श्रीमतीको हत्या

  • मङ्लबार, भदौ ८, २०७८
घरायसी विवादमा छोराबाटै बुवा र श्रीमतीको हत्या

जनकपुरधाम — घरायसी विवादले उग्ररुप लिएपछि छोराबाटै आफ्ना बुवा र श्रीमतीलाई निर्मम हत्या गरिएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका- ५ ललियाका ३० वर्षीय भागेश्वर मण्डलले आफ्नो बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २१ वर्षीया अम्बिका मण्डलको हत्या गरी शव आँप गाछीमा खाडल खनि गाडेको अवस्थामा फेला परेको छ ।

घरबाट रामवृक्ष र बुहारी अम्बिका एक्कासी बेपत्ता भएपछि स्थानीयवासीहरुले खोजतलास गरेका थिए । सोही क्रममा गाउँकै आँप बगैचामा खाडल खनि पुरेको र त्यो वरिपरि रगत लागेको देखेपछि प्रहरीलाई जानकारी गराएको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए।

‘स्थानीयबाट जानकारी आएपछि हामीले निजका छोरालाई पक्राउ गर्यौं अनि खाडल उत्खनन गर्दा शप पनि भेटिएको छ,’ उपरीक्षक रानाभाटले भने, ‘बुवा र श्रीमतीसँग छोराको पटक पटक विवाद हुने गरेको थियो। यसै क्रममा सोमबार राति एक बजेतिर बुवालाई काठको मुंग्रोले हिर्काएर र श्रीमतीलाई घाँटीमा डोरीले बाँधेर मारेको र पछि खाल्डो खनि गाडेको आरोपित छोराले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् ।’

बुवा र श्रीमतीको हत्या आरोपित मण्डल विगत दश वर्षदेखि वैदेशिक रोजगारीको क्रममा घर बाहिर बस्दै आएका थिए । चार वर्ष अगाडि घर फर्केर विवाह गरेका मण्डल विवाहहेपछि फेरी पनि वैदेशिक रोजगारकै लागि कतार गएका थिए ।

गत चैत्र महिनामा कतारबाट फर्केर घर आएका उनले पाँच महिना घर बस्दा बुवा र श्रीमतीसँग निकै विवाद हुने गरेको छिमेकीहरु बताउँछन् । सोही विवादले हत्याको रुप लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

मृतक ससुरा र बुहारी बीच के कस्तो सम्बन्ध थियो र मण्डलले उनलाई हत्या गर्न किन विवश भए भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभार

चर्चामा

सम्बन्धित समाचार