
भागेर काठमाडाैंको सडकमा आतंक मच्याउन थालेपछि एउटा राँगोलाई प्रहरीले गोली चलाएर मारेको छ।
बिहीबार राति करिब १० बजेपछि कालिमाटी रामघाटस्थितबाट एउटा राँगो दौडेर सडकमा निस्किएको थियो। सवारीसाधन तथा मानिसहरूलाई हान्दै गएपछि राँगोलाई गोली हान्नुपरेको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
बधशालामा ट्रकबाट राँगोलाई ओराल्ने क्रममा भागेको प्रहरीले जनाएको छ।
त्यसरी सडकमा आएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले राति नै थप क्षति नपुर्याओस् भन्दै पछि पछि लखेटेको थियो।
राँगोले कालिमाटी प्रहरीको एउटा गाडीमा समेत क्षति पुर्याएको थियो।
टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर-थापाथली हुँदै माइतीघर पुग्यो। त्यहाँको प्रहरीले साइरन बजाएर लखेटेपछि फेरि राँगो सोही बाटो फर्किएको थियो।
फेरि टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेको थियो। त्यहाँको चोकमा पुगेपछि भने प्रहरीले घेरेर गोली चलाएको हो। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले एसएलआर बन्दुकबाट चार राउन्ड गोली चलाएर मारेको थियो।
यसबाट ठूलो जनधनको क्षति भने नभएको प्रहरीले जनाएको छ।
