शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा सिजनल भाइरल ज्वरोको प्रकोप

बाजुरामा सिजनल भाइरल ज्वरोको प्रकोप

५ बर्ष मुनिका बालबालिकामा सबै भन्दा बढि संक्रमण

  • मङ्लबार, भदौ १, २०७८
बाजुरामा सिजनल भाइरल ज्वरोको प्रकोप

जँग रावल/बाजुरा–बाजुरा जिल्लामा दुइसाता देखी सिजनल भाइरल ज्वरोको प्रकोप फैलिएको छ । जिल्लाका सबै स्थानिय तहमा यसको प्रकोप बढेको पाईएको छ । सिजनल भाइरल ज्वरोले सबै भन्दा बढी ५ वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश राज जोशीले वताएका छन् ।
बालवालिकामा देखिएको संक्रमणले झनै जटिल रुप लिन थालेको छ । दिनप्रतिदिन विरामीको संख्यामा वृद्धि हुदै गएपछि संक्रमण जटिल प्रकारले फैलिन थालेको स्वास्थ्य कर्मीले बताएका छन् । जिल्ला अस्पताल बाजुराले अस्पतालमा उपचार हुन नसकेका ४ जना बालवालिकालाई जिल्ला बाहिर रिफर गरेको थियो । एक बालवालिकामा काठमाडौ चेक गर्दा कोभिडको डेल्टा भाइरस देखा परेको थियो ।
मौसमी संक्रमण जस्तो देखिएपनि ज्वरोको मात्रा र निमोनियाको संक्रमण व्यापक भएकोले परिस्थिति जटिल बन्दै गएको छ । जिल्ला अस्पताल बाजुरामा मात्र दैनिक प्रन्ध देखी बिस जना बालवालिका भाइरल ज्वरोका बिरामी उपचारमा आउने गरेका छन् । त्यस्तै खप्तड छेडेदह गाउँपालिका पनि बालवालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्वास्थ्य संयोजक रमेश वलीले वताएका छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको संख्या बढिरहेको छ ।
जिल्ला अस्पताल बाजुरामा दैनिक १० जना भन्दा बढी बालवालिकालाई अक्सिजनको साहयतामा उपचार गर्नुपरेको छ । १ सय देखि १ सय ५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका विरामी आउने गरेका छन् । विरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पताल बाजुराका स्टाफ नर्स निशा रोकायाले बताएकी छन् । उनिहरुमा अक्सिजनको कमि हुने गरेको अक्सिजन सहयोगमा उपचार गर्ने गरेको रोकायाले वताईन् ।
भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा मात्र नभई निजि मेडिकलमा पनि उल्लेखनिय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडीमा निजि मेडिकल सञ्चालन गर्दै आएका रामचन्द्र
यादवका अनुसार दैनिक ४० देखि ५० जना आफूले मात्र उपचार गर्ने गरेको बताएका छन् । विद्यालय जाने बालबालिकाबाट नै र घरमा रहेका साना बालबालिकामा संक्रमण फैलिएको यादवको भनाई छ ।
संक्रमण २ महिना देखि ५ वर्ष उमेर समूहका बालकालिमा बढी देखिएपनि विरामी १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले ४ वर्ष यताकै भयानक र जटिल संक्रमण देखिएको बताएको छ । एकै महिना सयैको संख्यामा बालबालिका विरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रकाश राज जोशीले बताएका छन् ।
जिल्लामा साउन दोस्रो सातादेखि संक्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिएपनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकोले थप जोखिम बढेको स्वास्थ्य कर्मीको भनाई छ । जिल्ला अस्पतालले समयमै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिल समेत गरेको छ ।
सामान्य लक्षण देखिने लगत्तै उपचारका लागि ल्याउनु पर्ने र खानपान, सुरक्षा र सरसफाइमा बिशेष ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ । सञ्चार माध्यमदेखि अभिभावक सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ । संक्रमणलाई नै मध्येनजर गरेर जिल्ला प्रशासन कार्यालयले बाजुराले भदौ १ गते बाट लकडाउनलाई थप कडाइ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार