प्रेम, डेटिङ, रोमान्सको कुुरालाई हामी उस्तो महत्व दिदैनौं । तर, वैंशको मात चढ्दै जाँदा हामी सबैजसो यही चरणबाट गुज्रिन्छौं । प्रेम गर्नु, डेटिङ जानु जीवनका अनिवार्य हिस्सा होइनन् । यी कुराहरुलाई अलग राखेर पनि हाम्रो जीवन चल्छ ।
यद्यपि, वैंशालु उमेरमा हामीलाई विपरितलिंगी साथीसँग सम्बन्ध बढाउन मन लाग्छ । उनीहरुसँग नजिकिन मन लाग्छ । प्रेमिल कुरा गर्न मन लाग्छ । एकअर्काको भावना बुझ्न मन लाग्छ । अन्तरंग पल साट्न मन लाग्छ ।
किशोर चरणमा प्रवेश गरेसँगै उनीहरुमा प्रेम भावना अंकुराउन थाल्छ । त्यसपछि विपरितलिंगी साथीहरुसँग घनिष्ठता बढाउन लालयित हुन्छन् । तर, आफुले कसैसँग प्रेम गर्न चाहेको कुरा कसरी व्यक्त गर्ने ?
भुक्तभोगीहरु भन्छन्, प्रेम एक अव्यक्त कुरा हो । यो आफै हुन्छ । जब दुई व्यक्तिले एकअर्कालाई मन पराउन थाल्छन् । उनीहरुले दुबैले कुनै न कुनै संकेतबाट यो कुरा व्यक्त गर्छन् । खासगरी उनीहरुले एकअर्काको बारेमा बढी चासो राख्छन्, ख्याल राख्छन् । कुनै न कुनै बहानाले नजिक हुन खोज्छन् । कुरा गर्न खोज्छन् । यसरी थाहै नपाई उनीहरु भावनात्मक रुपले एकाकार हुन्छन् ।
समय अनुसार प्रेम गर्ने प्रवृत्ति एवं शैली फेरिदै जान्छ । विगतमा प्रेमपत्र मार्फत उनीहरु एकअर्काको भावना साझेदार गर्थे । मनको कुरा खुलेर गर्न वा उन्मुक्त एकअर्काको साथ बिताउन कुनै एकान्त ठाउँको खोजी गर्थे । घर–समाजको आँखा छलेर अर्कै दुनियामा मग्न रमाउथे ।
आफुले कुन हदसम्म माया गरिरहेको छु भनेर दर्शाउन रगतको मसीमा पत्र लेख्नेसम्मको पागलपन देखाउथे प्रेम जोडीहरु । लैला–मजनु, मुना मदन जस्तो आदर्श प्रेमको पक्षधर हुन्थे उनीहरु । त्यसैले उनीहरु प्रेम–भावनामा यसरी डुबेका हुन्थे, त्यहाँबाट बाहिर निस्कन निकै गाह्रो हुन्थ्यो ।
तर, अहिले जमाना फेरिएको छ । प्रेमको स्वरुप पनि ।
अहिले भर्चुअल प्रेमको जमाना छ । फेसबुक जस्ता माध्यामहरुले यसलाई थप सघाएको छ । अहिलेका पुस्ता फेसबुक जस्ता सामाजिक सञ्जालमा भेटिने साथीसँग प्रेम भावना साट्छन् । त्यही माध्यामबाट उनीहरुले आफ्नो प्रेम व्यक्त गर्छन् । कुरा गर्छन् । रमाउँछन् ।
अहिलेका फास्टफुड पुस्ताको प्रेम त्यती परिपक्क भने छैन । उनीहरु क्षणमै प्रेम गर्छन् र क्षणमै ब्रेकअप । प्रेम र धोकाको चक्रमा उनीहरुको वैंशालु उमेर घुमिरहेको छ ।
भौतिक÷शारीरिक रुपमा कहिल्यै नभेटिएका, कहिल्यै नदेखिएका, कहिल्यै नचिनिएका व्यक्तिसँग चिनजान हुन्छ । मनका कुरा साटासाट हुन्छ । प्रेम प्रस्ताव राखिन्छ । यसरी उनीहरुको प्रेम सुरु हुन्छ ।
त्यसपछि फेसबुक जस्ता माध्यामबाटै उनीहरु घण्टौं गफ गर्न थाल्छन् । क्रसम उनीहरु एकअर्कासँग खुल्न थाल्छन् । यो क्रम कहाँसम्म पुग्छ भने, उनीहरुले एकअर्कासँग निजी फोटो साट्नेदेखि नितान्त व्यक्तिगत कुराहरु पनि आदनप्रदान गर्छन् ।
यसरी भर्चुअल माध्यामबाट जोडिएका कति प्रेमी–प्रेमिकाले दाम्पत्य सम्बन्ध पनि जोडेका छन् । तर, यी अपवाद हुन् ।
किशोर पुस्ताले नयाँ अनुभव संगाल्न, समय कटाउन, हल्का मनोरञ्जन लिन भर्चुअल माध्याममा प्रेमी–प्रेमिका खोजिरहेका छन् । उनीहरु सामाजिक सञ्जालमा देखभेट हुनसाथ प्रेम प्रस्ताव राख्न हतारिन्छन् । दुबैले एक अर्कालाई रुचाएमा प्रेमका कुराहरु गर्न थाल्छन् । भावना र कल्पनाका कुराहरु गर्न थाल्छन् । यस किसिमको प्रेम–सम्बन्धले उनीहरुलाई कहिले काहीँ जोखिममा पनि पार्न सक्छ ।
सामाजिक सञ्जालमा भेटिने पात्रहरु सबै वास्तविक र आफ्नो सही नामबाट आएका हुँदैनन् । उनीहरु विभिन्न दाउपेचले पनि प्रेमी वा प्रेमिका बनेर देखापर्छन् । अर्काको नितान्त व्यक्तिगत कुरा, व्यक्तिगत फोटो÷भिडियो माग्छन् । र, त्यसपछि भावनात्मक मोलमोलाई गर्न थाल्छन् । खासमा निहित स्वार्थका लागि उनीहरुले यसरी प्रेमको नाटक रच्ने गर्छन् । यसरी पनि धेरै किशोर–किशोरी फन्दामा परेका छन् ।
सामाजिक सञ्जालमा कतिपय आफ्नो सक्कली परिचय लुकाएर आउने गर्छन् । नक्कली फोटोहरु साझेदार गर्छन् । उनीहरुलाई पत्याएर किशोर÷किशोरीहरु प्रेममा पर्छन् ।
भर्चुअल माध्यामबाटै भेटिने कति प्रेमी-प्रेमिकाले डेटिङको प्रस्ताव राख्ने गर्छन् । जब उनीहरु डेटिङको ठाउँ तय गरेर त्यहाँ पुग्छन्, समाजिक सञ्जालमा देखिएका मान्छे भन्दा फरक पाउन सक्छन् । यसरी झुक्याउने, छल्ने काम पनि अहिले प्रशस्तै हुने गरेका छन् ।
त्यसैले भर्चुअल माध्यामबाट प्रेम गर्दा धेरै कुरामा ख्याल गर्नु जरुरी छ । खासगरी आफ्नो नितान्त व्यक्तिगत कुरा, परिवारको कुरा, तस्विर आदि साझेदार गर्न हतारिन हुँदैन । भौतिक रुपमा कहिल्यै नभेटेको, नदेखेको मान्छेलाई पूर्ण विश्वास गर्नु पनि उचित हुँदैन ।