• होमपेज
  • समाचार
  • जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

  • सोमवार, साउन २५, २०७८
जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

बैतडी — जंगली बँदेलको आक्रमणबाट बैतडीमा आइतबार एकजना प्रहरी हवल्दार घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका रामको घर बिदामा आएका बेला जंगली बँदेल आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बिहान साढे ८ बजे घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आक्रमण गरेको हो ।

प्रहरी निरीक्षक ओझाले भने,‘ आक्रमणबाट रामको हात र खुट्टामा चोट रहेको छ , जिल्ला अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ । ’आक्रमणबाट घाइते भएका रामको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

केही वर्षयता बैतडीमा जंगली बँदेलले आतंक मच्चाउने गरेका छन् । बँदेलले मकैबाली नष्ट गर्नुका साथै मानिसहरुलाई समेत आक्रमण गर्न थालेपछि समस्या भएको छ । यसअघि यही साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर बैतडीको सुर्नया गाउँपालिका ५ का दुई युवकको मृत्यु समेत भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार