शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • मोटरसाइकलको कर बढ्यो, कुन प्रदेशमा कति तिर्नुपर्छ ?

मोटरसाइकलको कर बढ्यो, कुन प्रदेशमा कति तिर्नुपर्छ ?

  • सोमवार, साउन २५, २०७८
मोटरसाइकलको कर बढ्यो, कुन प्रदेशमा कति तिर्नुपर्छ ?

कोरोना महामारीका कारण उद्योगधन्दा, कलकारखाना, उत्पादन, व्यापार आदि सबैमा असर परेको भएपनि सबैजसो प्रदेश सरकारले सवारीसाधनको करको दर भने बढाएका छन् । अधिकांश प्रदेश सरकारको मोटरसाइकलसहितका सवारीको करको दर बढाउँदा बागमती प्रदेश महङ्गो कर लिने प्रदेश बनेको छ ।

देश संघीय संरचनामा गएपछि सवारीसाधनको कर प्रदेश सरकारलाई नै उठाउन दिने निर्णय भएपछि प्रदेश सरकारले आफूखुशीको करको दरमा परिवर्तन गर्न थालेका छन् । पहिले केन्द्रीय सरकार हुँदा सामान्यतः ४÷४ वर्षमा बढ्ने करको दर प्रदेश संरचनामा गएपछि वार्षिक वा २÷२ वर्षमा करको दरमा परिवर्तन भइरहेको छ ।

यसवर्ष बागमती प्रदेश सरकारले १० देखि ४५प्रतिशतसम्म करको मूल्य बढाएको छ । बागमती प्रदेश सरकारले गत वर्षसम्म ४ हजार ५०० रुपैयाँ रहेको १६० सिसीको मोटरसाइकलको कर यस वर्षबाट बढाएर ६ हजार ५०० रुपैयाँ पुराएको छ ।

प्रदेश सरकारहरुले यस पटक सवारीसाधनको करमात्रै बढाएका छैनन्, पैसा उठाउन मिल्ने सबै क्षेत्र हेरेर कर बढाएका छन् । यसपटक सवारीसाधनको नामसारी गर्दा लाग्ने शुल्क बढेको छ भने ब्लु बुकको नवीकरण शुल्क पनि बढाइएको छ । त्यसैगरी बागमती प्रदेश सरकारले गत वर्षसम्म सनाखत गरेको पैसा नलाग्ने गरेकामा यस वर्षदेखि सनाखत गरेको पैसा पनि लिन थालेको छ ।

सवारी करमा प्रदेश सरकारको मनोमानी : सुदूरपश्चिममा ९ हजार तिरे पुग्ने, बागमतीमा ३० हजार !

सवारी करमा बागमती सबैभन्दा महङ्गो

अहिले नेपालमा २५ लाखभन्दा बढी मोटरसाइकल दर्ता भएका छन् । बागमती प्रदेशमा मात्रै करिब १३ लाख थान मोटरसाइकल दर्ता भएको छ ।

अहिले विलासिताको सामान भन्दा पनि अत्यावश्यक आवश्यकताको रुपमा हेरिएको निजी मोटरसाइकल माथि करको भारी बोकाउनेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ । निजी मोटरसाइकल वा अन्य सवारीमा करको दर कायम गर्नेमा कर्णाली प्रदेश सबैभन्दा सस्तो छ भने बागमती प्रदेश सबैभन्दा महङ्गो देखिएको छ ।

करको अन्तर : सुदूरपश्चिममा ९ हजार, बागमतीमा ३० हजार !

देशका सातवटै प्रदेश सरकारबाट जारी भएको आर्थिक ऐनलाई हेर्दा निजी मोटरसाइकलको कर बढी उठाउनेमा बागमती प्रदेश सरकार नै अगाडि रहेको देखिन्छ । बागमती प्रदेशमा ६५० सिसीभन्दा माथिको मोटरसाइकलको वार्षिक कर ३० हजार रहेको छ भने सुदूरपश्चिम प्रदेशमा मात्रै ९ हजार तिरे पुग्छ ।

त्यसैगरी १२५ सिसीभन्दा तलको मोटरसाइकलको कर अन्य प्रदेशमा २ हजार ५ सयको हाराहारीमा रहेकामा बागमती प्रदेशमा ३ हजार पुराइएको छ ।

त्यसैगरी सबैभन्दा धेरै चल्ने १५० सिसीको मोटरसाइकलको कर बागमती प्रदेशमा ५ हजार रुपैयाँ छ भने कर्णाली प्रदेशमा ४ हजार तिरे पुग्छ । त्यसैगरी कर्णाली प्रदेशमा ४ हजार रुपैयाँ तिरे पुग्ने १६० सिसीको मोटरसाइकलको कर बागमती प्रदेशमा भने ६ हजार ५०० तिर्नुपर्छ । त्यसैगरी कर्णाली प्रदेशमा ४ हजार नै तिरे पुग्ने २५० सिसीको मोटरसाइकलको कर बागमती प्रदेशमा भने ११ हजार तिर्नुपर्ने भएको छ । जबकि अधिकांश प्रदेशमा २५० सिसीको मोटरसाइकलको वार्षिक कर ६ हजार रुपैयाँभन्दा तल छ । तर बागमती प्रदेशले भने अन्य प्रदेशको तुलनामा दोब्बर कर असुली गरेको छ ।

नामसारी र नवीकरण शुल्क पनि बढ्यो

अन्य प्रदेशले अधिकतम ३०० रुपैयाँ लिइरहेको नामसारीका लागि अबदेखि बागमती प्रदेशमा ५०० रुपैयाँ बुझाउनुपर्नेछ । यसअघि मोटरसाइकलको नामसारी गर्दा बागमती प्रदेश सरकारले २०० रुपैयाँ मात्रै लिने गरेको थियो ।

त्यसैगरी ब्लु बुक नवीकरणका लागि पनि बागमती प्रदेश सरकारले २ सय प्रतिशत बढाएको छ । यसअघि ब्लु बुक नवीकरणको वार्षिक शुल्क १ सय रुपैयाँ रहेकामा आर्थिक वर्ष २०७८÷७९ बाट भने ३०० रुपैयाँ लिने भएको छ ।

१६० सिसीको मोटरसाइकलको वार्षिक करमा पनि वृद्धि

बागमती प्रदेश सरकारले मोटरसाइकलको सिसी अनुसार करको दरमा पनि व्यापक फेरबदल गरेको छ । गत वर्षसम्म १६० सिसीको मोटरसाइकलको वार्षिक कर ४ हजार ५०० रुपैयाँ लिने गरेकामा यस आर्थिक वर्षदेखि बढाएर ६ हजार ५०० पुराएको छ । १६० सिसीको मोटरसाइकलको कर एकै वर्षमा २ हजार रुपैयाँले बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार