• होमपेज
  • समाचार
  • प्रहरीको परीक्षामा नक्कली परीक्षार्थीः ६ जना पक्राउ

प्रहरीको परीक्षामा नक्कली परीक्षार्थीः ६ जना पक्राउ

  • बिहिबार, साउन २१, २०७८
प्रहरीको परीक्षामा नक्कली परीक्षार्थीः ६ जना पक्राउ

विराटनगर — प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले लिइरहेको प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन्। परीक्षामा सहभागी बनेका नक्कली परीक्षार्थीसहित ६ जनालाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपस्थित भएर अरूकै नाममा परीक्षा दिँदै गरेका र प्रहरीको जागिर खान नक्कली परीक्षार्थीको सहारा लिएका उनीहरुलाई बुधबार पक्राउ गरेर तालिम केन्द्रले आवश्यक कारबाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई रहेका छन्।

पक्राउ पर्नेमध्ये सूर्य राईले प्रहरी जवानमा भर्ना गराइदिने सर्तमा संगम र सागरसँग एक लाख १८ रूपैयाँका दरले तथा सरोजसँग दुई लाख रूपैयाँ लिएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीमा जागिर लगाईदिने भनेर पैसा असुलेका सूर्य आफै परीक्षार्थी बनेर अन्तरवार्तामा सहभागी भएको खुलेको छ।

उनले खपाङसँग भने पैसा लिन बाँकी रहेको पनि पाइएको छ। प्रहरीमा जागिर लगाइदिने र परीक्षार्थी तयार पार्ने काम राजकुमारले गरेको डीएसपी श्रेष्ठले बताए।

पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा कारबाही अघि बढाउन ५ दिनको म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशन  गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार