• होमपेज
  • समाचार
  • मोटरसाइकलसहित नहरमा खसेका व्यक्ति सम्पर्कविहीन

मोटरसाइकलसहित नहरमा खसेका व्यक्ति सम्पर्कविहीन

  • बुधबार, साउन २०, २०७८
मोटरसाइकलसहित नहरमा खसेका व्यक्ति सम्पर्कविहीन

विराटनगर — मोरङको ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मंगलबार राति मोटरसाइकलसहित खसेका भनिएका एक व्यक्ति सम्पर्कविहीन छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ५३३८ नम्बरको मोटरसाइकलसहित एक व्यक्ति नहरमा खसेको देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको पहिचान पनि खुल्न सकेको छैन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घटना राति ११ बजेतिरको हो । अनियन्त्रित भएर खसेको भनिएको मोटरसाइकल नहरमै फेला परे पनि मोटरसाइकल चलाएका व्यक्तिलाई भने भेट्न नसकिएको उनले बताए ।

‘पानी बगिरहेको नहरमा मोटरसाइकलसहित मानिस खसेर बेपत्ता भएको सूचना आएको थियो । त्यसपछि प्रहरीले खोजी तीव्र पारेको छ,’ उनले भने, ‘मोटरसाइकल भने नहरको पानीभित्रै भेटियो । तर चालक अझैसम्म सम्पर्कविहीन रहेकाले खोजी जारी राखिएको छ ।’

नहरमा सबै पानी सुकाएर खोज्दा पनि मोटरसाइकलमा सवार भनिएका ती व्यक्तिलाई फेला पार्न नसकिएको जानकारी डीएसपी श्रेष्ठले दिए । ‘मोटरसाइकल नम्बरका आधारमा मानिसको पहिचान गर्ने प्रयास भइरहेको छ । सबैतिर खोजी जारी राख्दा पनि पत्ता लगाउनै मुस्किल पर‍यो,’ उनले भने, ‘हराइरहेका व्यक्तिका कोही आफन्त पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । रातको समयमा ती व्यक्ति कता पुगेर आएका थिए भन्ने पनि खुल्न सकेन ।’
मोटरसाइकलसहित खसेपछि नहरमै मोटरसाइकल छाडेर भागेको पनि हुनसक्ने आशंका प्रहरीको छ ।

चर्चामा

सम्बन्धित समाचार