• होमपेज
  • समाचार
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

  • बुधबार, साउन २०, २०७८
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौंको चौमतीमा एक महिलाको हत्या भएको छ।

खोटाङ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १६ चौमती बस्ने २८ वर्षीया बबिता राईको मध्यराति हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

हत्या गरेको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका वडा नम्बर २ सातबिसेका ३८ वर्षीय उनका श्रीमान रामेश्वर गोतामेलाई बुधबार बिहान पक्राउ गरेको हो।

रामेश्वरले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने स्थानीयबाट खबर पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई घटनास्थलबाट पक्राउ गरेको हो। उनीहरू ५ महिनादेखि चौमतीका राजेन्द्र देवकोटाको घरमा बस्दै आएका थिए। सिंहका अनुसार हत्या गर्न उनले कुनै हतियार प्रयोग गरेका थिएनन्।

‘घाँटी थिचेर हत्या गरेको छ। हामीले श्रीमानलाई पक्राउ गरेका छौं,’ उनले भने। श्रीमान-श्रीमती दुबै जना बालाजुको औद्योगिक क्षेत्र भित्रको चप्पल कारखानामा काम गर्थे।

बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार उनीहरूको पाँच वर्षअघि मात्रै विवाह भएको थियो। मृतक बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन्। उनीहरूका बालबच्चा थिएनन्। पहिलो श्रीमतीसँग रामेश्वर छुटिसकेका छन्। पहिलो श्रीमतीबाट उनीहरूका करिब २० वर्षीय छोरा छन्।

‘उनीहरूको पहिलेदेखि नै सम्बन्ध राम्रो थिएन। त्यसैबीच हिजो राति १२ बजेदेखि साढे १२ बजेको बीचमा घाँटी थिचेर हत्या गरेको देखिन्छ,’ बुढाथोकीले भने,’श्रीमतीले रक्सी खाएर सधैं चक्कु देखाउने गर्थी। सधैं त्यसो गरेपछि मलाई सधैं तनाव भयो मारिदिन्छु बरू जेल बस्छु भनेर मारेको देखियो। अहिले पनि कुनै पश्चाताप गरेको छैन भनेर उनले बयान दिएका छन्।’ प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार