• होमपेज
  • समाचार
  • प्रहरी हिरासतमा पल्टु रविदासको मृत्यु-प्रकरण: ड्युटीमा खटिएका प्रहरी निलम्बित

प्रहरी हिरासतमा पल्टु रविदासको मृत्यु-प्रकरण: ड्युटीमा खटिएका प्रहरी निलम्बित

घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिने

  • मङ्लबार, साउन १९, २०७८
प्रहरी हिरासतमा पल्टु रविदासको मृत्यु-प्रकरण: ड्युटीमा खटिएका प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका पल्टु रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो पीडित परिवार, दलित अगुवा तथा अधिकारकर्मी र प्रहरी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुई बुँदे सहमतिपछि पीडित परिवारले शव बुझ्न तयार भएका हुन्।

घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन टोली गठन र पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।

ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु गएको साउन १५ गते हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटिएका थिए।

सोही दिन मुचुल्का गरी उनको शव पोष्टमार्टम भइसके पनि पल्टुको हत्या भएको भन्दै उनका परिवारले घटना निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन्।

उनीहरू घटना भएकै दिनदेखि प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए।

त्यसैगरी, मृतककी श्रीमतीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने समेत निर्णय भएको वार्तामा सहभागी दलित पत्रकार महासंघ प्रदेश २ का संयोजक कैलाश दासले बताए।

प्रदेश सरकारको तर्फबाट ५ लाख रूपैयाँ र संघीय सरकारले १० लाख क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार तथा दलित अगुवाहरूको माग छ।

त्यसैगरी, घटनाको बखत जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा सेन्ट्री खटेका प्रहरी जवान जय प्रकाश यादवलाई ६ महिनाका लागि निलम्बन समेत गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार