• होमपेज
  • समाचार
  • युवकको हत्यामा संलग्न तीनजना पक्राउ

युवकको हत्यामा संलग्न तीनजना पक्राउ

  • शनिबार, साउन १६, २०७८
युवकको हत्यामा संलग्न तीनजना पक्राउ

वीरगञ्ज — सवारीचालक अनुमति पत्र (लाइसेन्स) बनाउन वीरगञ्ज आएका काठमाडौंका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विरगञ्ज महानगरपालिका–७ का २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय बिक्की भनिने दीप लामा तामाङ र बाराको फेटा गाउँपालिका–३ का धनञ्जय रजक रहेका छन् । हत्यामा संलग्न भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ फरार रहेको प्रहरीले जनाएको छ ।

सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लाइसेन्स बनाउन सुजन गत बुधबार वीरगञ्ज आएका थिए । बिहीबार बिहान वीरगञ्ज रामटोलस्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि नारायणी अस्पतालमा पुर्याएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार सुजनले लगाएको सुनको औठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेका हुन् ।

वीरगञ्ज आइपुगेर बुधबार राति सुजनले साथीहरुसँग बसेर अबेर रातिसम्म बियर पिएका थिए । बियर सकिएपछि थप किन्न जाने बहानामा वीरगञ्ज–७को रामटोलकै एकान्त स्थानमा लगेर घाँटी थिचेर हत्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए ।

हत्यामा संलग्नमध्ये तीन जनालाई शुक्रबार पक्राउ गरिएको पर्सा प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । फरार रहेका भारतीय नागरिक रविको पनि खोजी भइरहेको खनालले बताए ।

पक्राउ परेका तीनजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार